काठमाडौं । नेपाल एयरलाइन्सले इतिहासमै पहिलो पटक संयुक्त राष्ट्र संघ (यूएन) को मिसनमा जाने नेपालीहरुलाई लैजाने जिम्मेवारी पाएको छ । यसअघि विदेशी एयरलाइन्सले नै नेपालमा रहेका सेनाहरुलाई लिन आउने र ल्याउने गरेको थियो ।
नेपाली सेना र एयरलाइन्सबीच बिहीबार भएको दुई पक्षीय सम्झौता अनुसार यो वर्ष मिसनमा जाने सेनाहरुलाई नेपाल एयरलाइन्सले उडान गर्ने छ ।
एयरलाइन्सका कार्यकारी अध्यक्ष सुशिल घिमिरेले इतिहासमा पहिलो पटक ध्वजाबाहक विमानमार्फत नेपाली सेनालाई लैजान लागेको बताए । यो हाम्रो लागी मात्र हैन, सिंगो मुलुकको लागि गर्वको विषय हो, अध्यक्ष घिमिरेले भने, एक महिनादेखी हामी लागि परेका थियौं , आज त्यो मिसन सफल भयो ।
सम्झौता अनुसार एयरलाइन्सले पहिलो उडान असार २४ अफ्रिकामा गर्ने भएको छ । संयुक्त राष्ट्र संघको आहृवानमा सेन्ट्रल अफ्रिकन रिपब्लक र मालीमा खटिने नेपाली सेनाका जवानलाई लिएर जहाज जाने छ । यस्तै त्यहाँबाट फर्किदा पनि नेपाली सेनालाई नै लिएर आउने छ ।
ती दुबै मुलुकमा वाइडबडी जहाजमार्फत उडान गर्ने छ । अहिले सुडान ,लिविया लगाएत ८ देखि १० वटा देशमा नेपाली सेनाहरु मिसनमा खटिएका छन् । एक वर्षसम्म उनीहरु विदेशमा रहन्छन् र अर्कोलाई लगेर जाने गरेको छ ।
कोभिडं १९ को प्रभावपछि अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपनि नेपाल एयरलाइन्सले चार्टर्ड उडान गर्दै आएको छ । दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज मार्फत अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।
हाल यूएनको शान्ति स्थापना कार्यको लागि विभिन्न १२ वटा द्वन्द्वग्रत मुलुकमा तैनाथ भएका नेपाली कन्टिन्जेन्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरि जम्मा ५ हजार ६ सय ५८ सुरक्षाकर्मीहरु कार्यरत छन ।
सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयका अनुसार सेनाका ५ हजार ९६ जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५ सय ६२ जना फौज विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ रहेका छन् ।
नेपालले पहिलो पटक सन १९५८ मा यूएन परिवेक्षक समूहको रुपमा लेबनान मिसनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी थिए ।