काठमाडौं । नेपाल निम्नमध्यम आय भएको मुलुकमा उक्लिएको छ । विश्वबैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकले नेपाल सन् २०१९ मा निम्नबाट निम्नमध्यम आय भएको मुलुकमा स्तरोन्नति भएको छ ।
१०३६ देखि ४ हजार ४५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आम्दानी भएका मुलुकहरू न्यूनमध्यम आय वर्गमा पर्छन् । नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ ।
सरकारले आगामी सन् २०३० मा नेपाललाई मध्य आम्दानी गर्ने मुलुक बनाउने योजना लिएको छ । गत वर्ष नेपालको प्रतिव्यक्ति आय ९७० डलर आय भएको थियो । नेपालको आयस्तर बढेपछि मध्यम आयवर्गमा उक्लिएको विश्व बैंकले जनाएको छ । सरकार
यसैगरी दक्षिण एशियामा माल्दिभ्सको प्रतिव्यक्ति आय सबैभन्दा उच्च रहेको विश्व बैंकले जानकारी दिएको छ । सन् २०१९ मा माल्दिभ्सको प्रतिव्यक्ति आम्दानी ९ हजार ६५० अमेरिकी डलर छ । श्रीलंका पनि सोही आयवर्गमा रहेकोमा यस वर्ष उसको प्रतिव्यक्ति आय खस्किएर निम्नमध्यम आय भएको मुलुकमा झरेको छ ।
गत वर्ष श्रीलंकाको प्रतिव्यक्ति आय ४ हजार ६० अमेरिकी डलर थियो, यो वर्ष ४ हजार २० डलरमा खुम्चेको छ । दक्षिण एशियाली मुलुकमध्ये अब अफगानिस्तान मात्रै न्यून आयवर्गमा छ, जसको प्रतिव्यक्ति आय ५४० अमेरिकी डलरमात्रै छ ।
विश्व बैंकले आयस्तरलाई ४ भागमा विभाजन गरेको छ । जसअनुसार उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न वर्गमा वर्गीकरण गर्दै आएको छ । १ हजार ३५ डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकहरू न्यून वर्गमा पर्छन् ।
सो भन्दा बढी अर्थात ४ हजार ४५ अमेरिकी डलरसम्म आम्दानी हुनेलाई निम्नमध्यम, ४ हजार ४६ देखि १२ हजार ३३५ डलरसम्म प्रतिव्यक्ति आय हुनेलाई उच्च मध्यम वर्ग र त्यो भन्दा बढी आय हुनेलाई उच्च आय वर्गमा राखिएको छ । गएको जुलाईको तथ्यांकमा आधारमा बैंकले विश्वभरका मुलुकहरूको आयस्तर गणना गरेको हो ।