काठमाडौं । ठूलो परिमाणमा दैनिक उपभोग्य वस्तु चोर बाटोबाट नेपाल भित्रिँदा स्वदेशी उद्योगको भविष्य संकटमा परेको र अर्बौ रुपैयाँ राजस्व गुमेको पाइएपछि सरकारले त्यसलाई कसरी रोक्ने भन्ने बारेमा छलफल सुरु गरेको छ ।
सरकारले लकडाउन गरेपछि नेपालको कुल मागको ५० प्रतिशत भन्दा बढी दैनिक उपभोग्य वस्तु चोर बाटोबाट नेपाल भित्रिने गरेको तथ्याङ्क अर्थ मन्त्रालयले दिएको छ । ‘लकडाउन अघिसम्म एउटा उद्योग मासिक एक करोडको कारोबार गथ्र्यो । तर, अहिले तीन देखि चार करोडको कारोबार गर्न थालेको छ,’ अर्थका एक अधिकारीले भने, ‘यसलाई आधार मान्दा पनि ठूलो परिमाणमा दैनिक उपभोग्य वस्तु चोरी भएर नेपाल भित्रिँदो रहेछ ।’
लकडाउनपछि केही वस्तुको व्यापारमा अप्रत्यासित सुधार आएपछि सरकारले त्यसको कारण खोजी गर्ने भएको छ । दैनिक उपभोग्य वस्तुको व्यापारमा व्यापक सुधार आएपछि कारण खोज्ने र सोही अनुसार रणनीति बनाएर जाने तयारीमा सरकार रहेको छ ।
अहिले मोबाइल, खाद्यन्न, तेल, चिनी, चप्पललगायत केही दैनिक उपभोग्य वस्तुको व्यापारमा सुधार आएपछि सरकारले त्यसको कारण खोज्न लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
के कारणले त्यस्ता वस्तुको व्यापार बढिरहेको छ । लकडाउन अघिका दिनमा किन ति वस्तुको व्यापार बढ्न सकेको थिएन? भन्ने विषयमा अर्थमन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको छ ।
व्यवसायीका अनुसार, अहिले मोवाइलको व्यापार लक्ष्यभन्दा १ सय १० प्रतिशतसम्म पुगेको छ । त्यसैगरी, खाने तेल, चिनी, खाद्यान्न, चप्पललगायतका वस्तुको माग पनि उच्च देखिएको व्यापारीहरुले बताएका छन् ।
मन्त्रालय स्रोतका अनुसार, उल्लेखित सम्पूर्ण सामग्री चोरी भएर नेपाल आउने गथ्र्यो । तर, अहिले सरकारले कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरेपछि मान्छेको आजातजावात बन्द भएसँगै आन्तरिक उत्पादनको माग ह्वात्तै बढेको अर्थको बुझाइ छ ।
‘अहिले नेपालीहरु पारी पट्टी जान पाउँदैनन्,’ उनले भने, ‘जे चाहिए पनि नेपाली उद्योगबाटै किन्नुपर्ने हुन्छ । स्वदेशी उद्योगबाट किन्ने बित्तिकै माग बढ्यो र बिक्री पनि बढेको हुनसक्छ ।’
अहिले जुन हिसावमा व्यापार बढेको छ, त्यसलाई आधार मान्ने हो भने हिजोका दिनमा सम्पूर्ण सामान चोरीको बाटोबाट नै भित्रिने गरेको देखिएको छ ।
मन्त्रालयले अहिले व्यापारीसँग यसको कारण बारे सोधिरहेका छन् । उनीहरुले दिएको राय सुझावका आधारमा मन्त्रालय रणनीति बनाएर अघि बढ्ने अर्थ मन्त्रालयले जनाएको छ । खुला सीमानाको फाइदा उठाउँदै सम्पूर्ण नेपाली भारतीय बजारमा जाने र त्यहीबाट आफूलाई चाहिने साम्रगी किनेर ल्याउने प्रचलन छ । त्यसले नेपालको अर्थतन्त्रमा ठूलो नोक्सान पुर्याएको अर्थको बुझाइ छ ।
‘लकडाउनपछि सरकारले कुन क्षेत्रको सामान बढी चोरी भएर नेपाल भित्रिन्छ भन्ने पनि राम्रोसँग बुझ्ने मौका पाएको छ,’ अर्थका ती अधिकारीले भने, ‘त्यस्ता वस्तुको चोरी रोक्न के गर्ने भन्ने विषयमा हामी सोचिरहेका छौं ।’