काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले गरेको बन्दाबन्दी(लकडाउन) बाट विभिन्न देशमा हुने कन्टेनर बुकिङमा ६० प्रतिशत गिरावट आएको छ । सिपिङ कम्पनीका अनुसार सामान्य अवस्था (लकडाउन हुनुपूर्व) नेपालले महिनामा ८ हजार ५ सय हाराहारीमा कन्टेनर बुकिङ गथ्र्यो । तर, अहिले ३ हजार हाराहारीमा मात्रै कन्टेनर बुकिङ गर्ने गरेका छन् ।
जबकी, सामान्य अवस्थामा नेपालले हप्तामै २ हजार भन्दा बढी कन्टेनर बुकिङ गर्ने गरेको सिपिङ कम्पनीहरुले जनाएका छन् । लकडाउन पछि धेरैले रोजगारी गुमाएका छन । दैनिक उपभोग्य वस्तुसमेत जोहो गर्न उनीहरुलाई धौधौ भइरहेका बेला विलासी वस्तु खरिद गर्ने कुरै भएन । त्यस्ता वस्तुको माग घट्ने बित्तिकै बुकिङ पनि रोकिएको सम्बद्ध व्यापारीहरु बताउँछन् ।
सिपिङ कम्पनीहरुले दिएको जानकारी अनुसार, नेपालले वार्षिक रुपमा एक लाख हाराहारी कन्टेनर बुकिङ गर्थो । यसलाई हिसाव गर्दा मासिक रुपमा ८ हजार ३ सय भन्दा बढी हुन्छ । तर, अहिले असामान्य अवस्थामा यो संख्या घटेर ३ हजारमा खुम्चिएको छ ।
अहिले केही खाद्यान्नको कन्टेनर बुकिङ आइरहेको छ ।
इलेक्ट्रोनिक्स, गाडीलगायतको बुकिङ शून्यमा झरेको छ । सरकारले मरिच, केराउ, मटर, छोकडालगायत केही वस्तुको आयातमा पूर्ण रुपले प्रतिबन्ध लगाएकाले पनि असर परेको देखिएको छ ।
त्यसैगरी, कपडा व्यापारीले पनि नयाँ कपडा बुकिङ गरेका छैनन् । अहिले गर्मी सिजनका कपडा बुकिङ गर्नुपर्ने भए पनि कसैले नगरेको सिपिङ कम्पनीले जनाएका छन् । अहिले खाद्यान्न, औषधिलगायत केही अत्यावश्यक वस्तुको मात्रै बुकिङ भएको उनीहरुले बताएका छन् ।
राजस्वमा गम्भीर चाप पर्न सक्छ
अहिले जे—जे वस्तुको बुकिङ भइरहेको छ । त्यसबाट राज्यले खासै ठूलो राजस्व प्राप्त गर्दैन् । राजस्वमा योगदान गर्ने क्षेत्र भनेको मदिरा हो । त्यसको आयात पूर्ण रुपमा रोकिएको छ । त्यसैगरी, गाडीको बुकिङ पनि शुन्य छ ।
टिभी, फ्रिज, वासिङ मेसिनलगायतका इलेक्ट्रोनिक्स आइटमको बुकिङ पनि शुन्य छ । जसले राजस्वमा ठूलो भरथेग गरेको थियो । त्यसैगरी छिटफुट रुपमा मोबाईलको बुकिङ भइरहेको छ । त्यसबाहेक कपडा पनि बुकिङ बढ्न सकेको छैन् ।