काठमाडौं । अमेरिकी डलर मुद्रामा विद्युत् खरिद बिक्री सम्झौता(पीपीए) भएका तीन ओटा आयोजनाको मुद्रा सटहीबाट विद्युत प्राधिकरणलाइ ५४ करोड घाटा लाग्ने देखिएको छ । खासगरी खिम्ती—१ जलविद्युत आयोजना, भोटेकोशी जलविद्युत् आयोजना र मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको पीपीए डलरबाट गरेका त्यसको भुक्तानी पनि डलरमै गर्नुपर्दा प्राधिरकणलाइ घाटा हुन सक्ने विद्युत् नियमन आयोगले प्रक्षेपण गरेको हो ।
तीनैओटा आयोजनाको विद्युत् खरिद गरेबापत प्राधिरकणलाइ ८ अर्ब रुपैयाँ दायित्व हुन आउँछ । तर, अमेरिकी डलरको मुद्रा सटही दर बढेकाले प्राधिरकणलाइ थप भार पर्ने भएको हो ।
२०७६ साउन १ गते एक अमेरिकी डलर बराबर ११० रुपैयाँ नेपाली मुद्रा थियो । तर, असार सम्म आइपुग्दा डलरको १२१ रुपैँया सम्म पुगेकाले चालू आर्थिक वर्ष २०७६÷०७७ मा मुद्रा सटहीबापत प्राधिकरणलाइ घाटा हुने देखिएको हो ।
यो बीचमा एक अमेरिकी डलरको भाउ ११ रुपैयाँ सम्म बढेको छ । नेपाली मुद्रा कमजोर हुँदा डलरमा पीपीए भएका आयोजनाको भुक्तानी डलरमै गर्नुपर्दा घाटा हुने भएको हो । प्राधिरकणले मुद्रा सटहीबाट हुने घाटाको प्रक्षेपण गरेको थिएन् । तर, एक्कासी डलरका कारणले नेपाली मुद्रा कमजोर हुँदा प्राधिकरणले नोक्सान व्यर्होनुपर्ने देखिन्छ ।
डलरमा पीपीए भएका जलविद्युत् आयोजनामा मात्र नभइ प्राधिरकणलाइ वैदेशिक ऋण भुक्तानी गर्दा पनि घाटा हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘मुद्रा सटहीमा मात्रै होइन्, डलरमा आएको ऋणहरु पनि हुन्छ । त्यसमा पनि घाटा हुन्छ’ उनले भने, ‘डलरमा पीपीए भएकाबाट पनि घाटा हुन्छ ।’
चालू आर्थिक वर्षमा हुने मुद्रा सटही घाटालाइ यसअघि विद्युत् नियमन आयोगले प्राधिरकणको खर्चका रुपमा स्वीकृति गरिसकेको छ ।