काठमाडौं । लकडाउनपछि मोबाइलसहित अधिकांश दैनिक उपभोग्य वस्तुको व्यापारमा चामत्कारिक सुधार आउँदा कपडा र जुत्ताको व्यापार सिथिल देखिएको छ ।
सीमानामा कडाई भएपछि चोरी भएर सामान आउन पूर्ण रुपमा रोकिएपछि मोबाइलसहित खाद्यान्न व्यापार सुध्रिए पनि जुत्ता र कपडाको व्यापारमा कुनै सुधार नआएको उद्योगीहरुले बताएका छन् ।
चप्पलको व्यापारमा अत्याधिक सुधार आएको छ । गत वर्ष यही अवधिमा दैनिक १० हजार जोर चप्पल बनाएर बेच्ने उद्योगले अहिले २० हजार जोर बनाएर बेचिरहेका छन् । अझै पनि माग अनुसार, उत्पादन गर्न सकिएको छैन् । ‘दैनिक ३० हजार जोर चप्पल उत्पादन गरेर पनि बिक्री हुन्छ,’ हवाई चप्पल उत्पादन गर्दै आएका उद्योगी वीरेन्द्र शाहले भने, ‘जुत्ताको तुलनामा चप्पलको माग अत्याधिक छ । माग अनुसार उत्पादन गर्न सकेका छैनौ ।’
जसरी अन्य वस्तुको व्यापारमा सुधार आएको छ, त्यसअनुसार कपडा र जुत्ताको व्यापार भने खुम्चिएको छ । अहिले पनि जुत्ता र कपडाको उद्योगीले आफ्नो क्षमताको २५ देखि ३० प्रतिशतमा उद्योग चलाएर बसेका छन् । ‘दैनिक उपभोग्य वस्तुमा जसरी कपडा र जुत्ताको माग बढ्दैन्,’ कपडा उत्पादक संघका उपाध्यक्ष जीतेन्द्र लोहियाले भने, ‘मानिसको क्रयशक्ति शुन्यमा झरेको छ । दैनिक उपभोग्य वस्तु त जसरी पनि खरिद गर्नै पर्यो । तर, जुत्ता र कपडा त त्यसरी किन्न पर्दैन् । त्यही भएर यसको व्यापारमा कुनै असर देखिएको हो ।’
सरकारले सीमानामा कडाइ गरेपछि चोरी भएर जुत्ता तथा कपडा भित्रिएको छैन् । त्यसले उद्योगी/व्यवसायीलाई ठूलो राहत दिएको छ । तर, माग कम छ । त्यसकारण उद्योगीले आफ्नो क्षमताको २५ देखि ३० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छन् ।
उद्योगी राजेश अग्रवालका अनुसार चप्पलको माग बढेको छ । तर, जुत्ताको माग बढेको छैन् । ‘अहिले जुत्ता लगाउने सिजन पनि होइन्,’ अग्रवालले भने, ‘गर्मी सिजन भएकाले जुत्ताको तुलनामा चप्पलको माग बढी हुनु स्वभाविक हो ।’