काठमाडौं । कोभिड–१९ को कारण लामो समयदेखि घरभित्रै थुनिएर बसेकाहरुलाई काठमाडौं गेष्ट हाउस (केजीएच) ग्रुपले ‘उर्जाटन’ प्याकेज ल्याएको छ । घरमा मात्र बस्दा दिकदारी भएकाहरुलाई लक्षित गरी केजीएच अन्तर्गत पोखरामा रहेका दुई होटलमा आकर्षक प्याकेज ल्याएको हो ।
विशेष गरेर पोखरा आसपासमा रहेका ग्राहकहरुलाई लक्षित गरी केजीएच ग्रुपले पोखरामा रहेको वाटरफन्ट र हिमालयन फन्ट होटलमा १ रात दुई दिन देखि ६ रात ७ दिनसम्मको प्याकेज ल्याएको हो ।
वाटरफन्ट होटलका मार्केटिङ म्यानेजर शुसिल अर्यालले तीन किसिमको प्याकेज ल्याएको बताए । प्रतिव्यक्ति १ रात २ दिनका लागि २ हजार ५ सय, तीन रात ४ दिनका लागि ७ हजार २ सय र ६ रात ७ दिनको १२ हजार रुपैयाँ रहेको उनले बताए । यहाँ, बिहान खाजा ,खाना ,दिउँसो खाजा र बेलुकी खानाको व्यवस्था गरिएको उनको भनाई छ । सो प्याकेजमा भेज खाना मात्र समावेश गरिएको उनले बताए ।
ती होटलमा यसअघि प्रतिव्यक्ति एक दिनको १० हजार रुपैयाँ पर्ने गरेको थियो । कोभिड नियन्त्रणपछि पनि पर्यटकलाई आकर्षण गराउन हालको प्याकेजलाई २०२० भरि नै कार्यन्वयन गरिने म्यानेजर अर्याललको भनाई छ ।
होटलमा जाँदा सुरुमै स्वास्थ्य परिक्षण गरिने छ । यो सँगै अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, रेष्टुरेन्टमा १ मिटरको दुरी कायम गरिनुपर्ने लगाएतका मापदण्डहरु बनाइएको छ ।
सरकारले असार १ गतेबाट लकडाउनलाई केहि खुकुलो बनाएको भएपनि होटल र रिसोर्टलाई खोल्न दिएको छैन ।
तर, केजीएच ग्रुपले आफ्नो ग्राहकहरुलाई सुरक्षित तवरले राख्नका लागि आवश्यक स्वास्थ्यका मापदण्डहरु पुरा गरिएको उनको भनाई छ । केजीएचले काठमाडौं, पोखरा र भैरहवामा होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ ।
यी दुई हाेटलकाे अनलाइन बुकिङ र मार्केटिङकाे काम एक्सलट्रिपले गरिरहेको छ ।