काठमाडौं । लगानीयोग्य रकम बैंकमै थुप्रिए पछि बैंकहरुले संस्थागत निक्षेप उठाउनका लागि ब्याज गर्ने प्रतिस्पर्धा बन्द गरेका छन् । साधारण तरिकाबाट भित्रिने निक्षेप नै बैंकमा थुप्रिएपछि संस्थागत निक्षेप उठाउनका लागि बैंकले ब्याजमा गर्ने प्रतिस्पर्धा (बिड) बन्द गरेका हुन् ।
कल डिपोजिटको ब्याज पनि बचत खाताको न्यूनतम ब्याज सरह उपलब्ध गराउने बैंकहरुबीच समझदारी भएको छ । यदि कसैले डिपोजिट लिएर आउँछ भने २ प्रतिशत हाराहारी मात्रै ब्याज दिइने नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले बताए ।
‘बैंकहरुबीच एउटै ब्याजदरमा निक्षेप संकलन गरिन्छ,’ उनले भने, ‘पहिलाको जस्तो कुनै बैंकले बढी ब्याज दिने र कुनैले कम ब्याज दिने भन्ने अब हुँदैन । त्यही भएर कुनै पनि बैंकले कल डिपोजिट उठाउन प्रतिस्पर्धा नै गरेका छैनन् ।’
पहिला पहिला संस्थागत निक्षेप उठाउन बिड गरिन्थ्यो । कुन बैंक कति बढी ब्याज दिने भन्ने पनि प्रतिस्पर्धा हुन्थ्यो । तर, अहिले त्यो क्रम रोकिएको छ । जुन बैंकमा लगेर निक्षेप जम्मा गरे पनि ग्राहकले पाउने ब्याज भनेको एउटै हुने पाण्डेले जानकारी दिए ।
‘पहिलाको जस्तो घटीबढी ब्याज पाउने भन्ने हुँदैन्,’ उनले भने, ‘मेरो बैंकमा ल्याए पनि एउटै दर अर्को बैंकमा गए पछि एउटै दर हुन्छ ।’ बजारमा तरलताको चरम अभाव भए पछि बैंकले चर्को ब्याज तिरेर भए पनि संस्थागत निक्षेप उठाउने गर्थे र उक्त उठेको पैसा ऋणको रुपमा लगानी गर्ने प्रचलन थियो । तर, कोरोनाका कारण लगानीका क्षेत्र बन्द भएका छन् । नयाँ ऋणको माग शुन्यमा झरेको छ । एलसी खोल्ने कार्य नै ६० प्रतिशत कमी भए पछि बैंकले संस्थागत निक्षेप उठाउनका लागि बिड नै बन्द गरेको बैंकरहरुले जानकारी दिए ।
प्रभु बैंकका सीईओ अशोक शेरचनले अहिले संस्थागत निक्षेप लिनका लागि कुनै प्रतिस्पर्धा नभएको बताए । ‘न्यूनतम ब्याज दिने गरि निक्षेप लिने तर निक्षेप लिनकै लागि ब्याजमा प्रतिस्पर्धा अहिले छैन,’ उनले भने ।
अहिले उसै पनि बैंकमा लगानीयोग्य पुँजी थुप्रिरहेको छ । नेपाल बैकर्स संघका अनुसार अहिले एक खर्ब रुपैयाँ लगानी योग्य पुँजी बैंकमा थुप्रिएर बसेको छ ।
केन्द्रीय बैंकले आफ्नो निर्देशनमार्फत पनि लगानीयोग्य पुँजी बजारमा ल्याउन सहयोग गरेको थियो । तर, ऋणको माग ह्वात्तै घटेपछि सम्पूर्ण पैसा बैंकमा थन्किएर बसेको बैंकरहरुले बताएका छन् ।
एकातिर ऋणको माग कमी हुँदै जाने, अर्को तिर लगानीका क्षेत्र खुम्चिँदै जाने र बजारमा लगानीयोग्य पुँजी बढ्दै जाने अवस्था आयो भने यसले बैंङकिङ क्षेत्रमा ठूलो समस्या ल्याउने र त्यसको प्रत्यक्ष असर सेयर बजारमा समेत पर्ने सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडियाले जानकारी दिए ।