काठमाडौं । मिटरले नापेर रड बेच्ने विषयमा नेपाल नापतौल तथा गुणस्तर विभागले चासो लिएको छ । विश्वका धेरै मुलुकमा रड नापेर बेचिने भए पनि नेपालमा किलोग्राम (केजी)मा बिक्री हुँदै आएपछि विभागले त्यस विषयमा चासो लिएको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनी अनुसार, अमेरिकाका केही राज्य, युरोप, खाडी तथा दक्षिण एसियाली मुलुकमै पनि मिटरमा नापेर रड बिक्री हुँदै आएपनि नेपालमा भने केजीमा बेच्ने प्रचलन छ ।
‘नेपालमा पनि मिटरमै रड बेच्ने विषयमा सम्बद्ध उद्योगीसँग छलफल गर्ने तयारीमा छौं’ उनले भने, ‘लकडाउन खुल्ने बित्तिकै यस विषयमा छलफल गर्न उद्योगीलाई बोलाउँछु ।’
रड केजीमा जोखेर बेच्नुभन्दा मिटरमा बेच्नु धेरै राम्रो हो । हाम्रा उद्योगीको केही कमजोरीका कारण उनीहरु मिटरमा भन्दा केजीमा बेच्न रुचाउने गरेको पुडासैनीले बताए ।
विश्वका धेरै मुलुकमा रड मिटरमै नापेर बेचिन्छ । हुनुपर्ने पनि त्यही हो । तर, नेपालमा अहिलेसम्म केजीमा जोखेर बिक्री गर्ने गरिए पनि अब त्यसलाई मिटरमा कसरी लैजान सकिन्छ भन्ने विषयमा सम्बद्ध उद्योगीसँग छलफल गर्ने योजना रहेको उनको भनाइ छ ।
विभागका महानिर्देशक पुडासैनीले मिटरमा नापेर रड बेच्ने देशहरुले १० एमएमको डण्डी बनाउँदा १० एमएमलाई लोर साइडमा राख्छन् । तर, नेपालका उद्योगीले यदि १० एमएमको डण्डी बनाउँदा त्यसलाई हाइयर साइडमा राख्ने गर्छ ।
यसो किन गरिन्छ भने नेपाली उद्योगहरु जोखेर रडको कारोबार गर्छन । जोखेर बिक्री गर्ने बित्तिकै बढी परिमाणको रड जाने भयो । र, उनीहरुलाई फाइदा भयो भने उपभोक्तालाई अनावश्यक रडको पैसा तिर्नुपर्ने भयो ।
‘व्यापारीले रड अलि मोटो बनाउँदा पनि उनीहरुलाई घाटा केही भएन । किनभने, जति मोटो बनाएर बेचे पनि तौलिएर दिने हो । नापेर बेच्दा पो घाटा हुन्छ त,’ उनले भने ।
याे पनि हेर्नुस्, संसारभर रड मिटरले नापेर बेचिन्छ, नेपालमा किलोमा किन ? बर्षौदेखि ठगिंदै उपभोक्ता