काठमाडौं । सिमेन्टको माग बढ्ने आसमा टनका टन क्लिङ्कर मगाएका उद्योगीहरु अहिले पुनःपछुताउन थालेका छन् । आंशिक रुपमा लकडाउन खुलेपछि बजारमा सिमेन्टको माग ह्वात्तै बढ्यो ।
त्यो गति लामो समयसम्म जान्छ भन्ने अनुमान गरेर उद्योगीले तीन गुणासम्म क्लिङ्कर मगाए पनि अहिले सिमेन्टको माग १० प्रतिशतमा झरेपछि उद्योगीहरु बताउँछन् ।
‘त्यो बेलाको सिमेन्टको मागलाई हेरेर उद्योगीले महँगो मूल्य तिरेर धमाधम क्लिङ्कर झिकाए’आरएमसी ग्रूपका प्रवन्ध निर्देशक राजेश अग्रवालले भने, ‘तर, अहिले सिमेन्टको माग ह्वात्तै घट्यो । क्लिङ्कर र सिमेन्ट फेरी गोदाममै थन्क्याउनुको विकल्प भएन ।’
सरकारले आशिंक रुपमा लकडाउन खुलेपछि सिमेन्टको माग उच्च देखियो । माग बढ्ने र उत्पादन गर्न नसक्ने अवस्था आउँला भनेर व्यापारीले पनि एक कन्टेनरको ठाउँमा तीन कन्टेनरसम्म क्लिङ्कर मगाए । तर, अहिले सिमेन्टको माग ह्वात्तै घटेको उद्योगीहरु बताउँछन् ।
क्षणिक रुपमा देखिएको सिमेन्टको मागलाई मध्यनजर नगरी उद्योगीले ठूलो परिमाणका क्लिङ्कर झिकाउँदा उनीहरुको लगानी फसेको उद्योगीहरु नै बताउँछन् ।
अहिले सिमेन्टको माग नै हुन छाडेको छ । ‘छिटफूट रुपमा बिक्री हुनु भनेको बेग्लै कुरा हो, तर जुन परिमाणमा बिक्री हुन्थ्यो, त्यो हिसावले छैन्,’ अम्बे ग्रुपका प्रवन्ध निर्देशक हरि न्यौपानेले भने, ‘अहिले सिमेन्ट बनाउने र गोदाममा राख्ने काम मात्रै भइरहेको छ ।’
अब पानी पर्ने सिजन सुरु भइसकेकाले आगामी दुई महिना सिमेन्ट बिक्री हुने कुनै भएन । असोज लागेपछि सिमेन्टको बिक्रीमा केही सुधार आउने उद्योगीहरु बताउँछन् ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाका अनुसार, उद्योगीले ११ हजार रुपैयाँसम्म तिरेर क्लिङ्कर झिकाए । तर, सिमेन्टको माग ह्वात्तै घट्यो ।
केही उद्योगीले त पछि फेरी लकडाउन हुन सक्ने सम्भावनालाई हेरेर बढी नै क्लिङ्कर मगाएका थिए । त्यो बेलाको माग धान्नलाई एक कन्टेनर क्लिङ्कर मगाए पुग्ने ठाउँमा तीन गाडीसम्म झिकाएका थिए । अहिले उनीहरुलाई क्लिङ्कर व्यवस्थापन गर्न नै समस्या भएको उद्योगीहरु बताउँछन् ।
वैशाखसम्म मासिक औसत २५ करोड ६१ लाख रुपैयाँबराबरको क्लिंकर आयात भइरहेकामा जेठमा मात्रै ८१ करोड ७१ लाख रुपैयाँको आयात भएको छ ।
मासिक औसत साढे २५ करोडको क्लिंकर आयात हुने गरेको थियो, तर जेठमा मात्रै ८१ करोड ७१ लाख रुपैयाँको क्लिंकर आयात भएको छ, यो मासिक औसत क्लिंकर आयातको तुलनामा तीन गुणाले बढी हो ।
भन्सार विभागका अनुसार जेठ मसान्तसम्म कुल ३ अर्ब ३७ करोड ८७ लाख रुपैयाँबराबरको ४ लाख ६७ हजार ४ सय ४० टन क्लिंकर आयात भएको छ । वैशाखसम्म २ अर्ब ५६ करोड १६ लाख रुपैयाँबराबरको ३ लाख ६८ हजार ६ सय ४० टन क्लिंकर आयात भएको थियो ।
जेठको एक महिनामा मात्रै ८१ करोड ७१ लाख रुपैयाँबराबरको ९० हजार ८ सय ८० टन क्लिंकर आयात भएको हो ।