काठमाडाैं । पूर्वसहमतिअनुसार पर्शुराम कुवँर क्षेत्रीको ग्लोबल आइएमई बैंकमा अझै एक वर्ष समय छ । उनले नियमति काम गरेको भए २०७८ जेठसम्म ग्लोबलको सीईओ रहन्थे । तर, एकाएक ग्लोबल आइएमई र जनता बैंक एकीकृत भएको ७ महिना नपुग्दै ग्लोबलबाट बाहिरिएका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसफुकमा स्टाटस लेख्दै साउन १ देखि लागू हुने गरि दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेकोमा धन्यवाद दिएका छन् ।
यसआधारमा हेर्दा कुवँर ग्लोबलमा करीब ७ महिना मात्रै काम गरे । २०७६ मंसीर २० गते ग्लोबल र जनता बैंक एकाआपसमा गाभिएर ग्लोबल आइएमई बैंकको नामबाट वित्तीय सेवा सुरु गरेको थियो । मर्जर प्रक्रियामा दुबै पक्षको सहमतिबमोजिम बैंक सञ्चालक समितिको अध्यक्षमा ग्लोबलकै अध्यक्ष चन्द्रप्रसाद ढकाल र सीईओमा जनताका कुवँरले नेतृत्व गर्ने उल्लेख थियो । तर, बैंकले एकीकृत कारोबार गरेको ७ महिना पुग्दानपुग्दै कुवँरले बैंक छाडेर हिँडेका छन् । त्यसो त दुबै बैंकका कर्मचारी जोड्दा आवश्यकताभन्दा बढी कर्मचारी रहेको भन्दै हालै मात्र ग्लोबल आईएमईले कर्मचारीहरुका लागि स्वेच्छिक अवकास योजना (भीआरएस) अघि सारेको छ ।
कुवँरको राजीनामासँगै ग्लोबल आईएमई बैंकमा सीईओ किन टिक्दैनन् भनेर प्रश्न उब्जिएको छ । समयअगावै बैंकबाट बाहिरिने उनी लगातार चाैथाैं सीईओ हुन् । बैंक सञ्चालनमा आएको १५ वर्षमा ५ जना सीईओ बैंकले फेरिसकेको छ । आफ्नो कार्यकाल पूरा काम गर्ने सीईओमध्ये रत्नराज बज्राचार्य मात्र हुन् । दुई पटक सीईओ भएका अनिल ज्ञवालीले पनि दुई पटक नै पुरै कार्यकाल काम गरेनन् । दोहो¥याएर गएका अनिल ज्ञवालीलेसमेत दोस्रो पटक पनि पुरा कार्यकाल काम नगरी बाहिरिएका थिए । बैंक स्थापनाकालका महाप्रवन्धक सुमन न्यौपानेले समेत पुरा कार्यकाल काम गर्न पाएनन् । न्यौपानेपछि ज्ञवाली बैंकमा सीइओ भएर गएका थिए । उनी पहिलो कार्यकालमा २ वर्ष ४ महिनामा बाहिरिएका थिए ।
जति ठूलो संस्था त्यति नै स्थिर व्यवस्थापन चाहिन्छ । तर, ग्लोबलमा भने व्यवस्थापक जहिले पनि कमजोर र सञ्चालक समिति हावी हुने गरेको आरोप लाग्दै आएको छ ।
व्यवस्थापनको कुनै दबाब नभएको र आफूले स्वास्थ्यका कारणले राजीनामा दिएको कुँवरले क्यापिटल नेपाललाई बताए । बज्राचार्यको ४ वर्षे कार्यकाल सकिएपछि नबिलबाट दोस्रो पटक २०७२ जेठमा ग्लोबल छिरेका ज्ञवाली दुई वर्ष कार्यकाल बाँकी हुँदै २०७४ भदौमा बाहिरिए । ज्ञवाली अहिले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का सिइओ छन् ।
ज्ञवालीपछि सीइओ बनेका जनक शर्मा पौड्यालले पनि कार्यकाल बाँकी रहँदै ग्लोबलबाट बाहिरिए । २०७४ मंसीरमा जनक शर्मा पौड्यालले बैंकको नेतृत्व सम्हाले पनि उनीसमेत एक वर्ष हाराहारी काम गर्दै २०७५ माघमा बाहिरिए । उनी ग्लोबल बैंक स्थापना कालदेखी सहायक महाप्रवन्धकबाट क्रियाशिल रहेर सीईओ भएका व्यक्ति हुन् । तर, पूरा कार्यकाल निभाउन पाएनन् । पौड्याल अहिले सनराईज बैंकको सीईओ छन् ।
अहिले बैंकको व्यवस्थापकीय नेतृत्वमा महेशप्रसाद ढकाल छन् । बैंक सञ्चालक समितिले ढकाललाई जिम्मेवारी दिएको वा नयाँ सीईओ खोज्ने भन्ने बारे केही बताएको छैन । तर, ढकालले भने ग्लोबल आइएमईमा जनता गाभिनुअघि कायम मुकायम सीईओको भुमिका निभाईसकेका छन् । उनले त्यतिबेला करीव १ वर्ष कामू सीईओको भुमिका निभाएका थिए ।
अहिले पनि उनी वरिष्ठ डेपुटी सीइओ छन् । तत्कालिन टुरिज्म डेभलपमेन्ट बैंकको सीईओ ढकाल मेगा बैंक नेपाल हुँदै ग्लोबल आईएमईको डेपुटी सीईओ नियुक्त भएका थिए । ग्लोबल आईएमईमा २ वाणिज्य बैंक रुश्रस्हित एक दर्जन भन्दा बढी वित्तीय संस्थाहरु गाभिइसकेका छन् ।