पोखरा । घरमा व्यवसाय गर्नेलाइ नेपाल पर्यटन बोर्डका पूर्व सदस्य पर्यटन व्यवसायी अग्नी कँडेल र उनकी पत्नी नर्मला कँडेलले घरभाडा मिनाहा गरेका छन् । पोखरा लेकसाइडस्थित घरमा व्यवसाय गरेका व्यवसायीलाई राहतस्वरुप तीन महिनाको घरभाडा मिनाहा गरेका हुन् ।
कोभिड–१९ को प्रभावका कारण लेकसाइड गत चैत महिनादेखि सुनसान छ । लाख–लाख रुपँया भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले व्यवसाय बन्द गरेर बस्नु पर्दा घरभाडा तिर्न सकिरहेका छैनन् भने व्यवसायबाट पलायन हुनुपर्ने अवस्था समेत देखिएको छ ।
पर्यटन सम्बद्ध संघ संस्थाले पटक पटक घर भाडा मिनाहा र सहुलियतका लागि आग्रह गर्दै आएपनि औपचारिक रुपमा घरभाडा छुटको घोषणा लेकसाइडका घरधनीबाट हुन सकेको छैन । यसै सन्दर्भमा कँडेल दम्पत्तीले मौनता तोड्दै घरभाडा छुटको घोषणा गरेका हुन् ।
“कोभिड –१९ को सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा छ, व्यवसायनै बन्द रहेको अवस्थामा व्यवसायीलाई भाडा तिर्न समस्या हुन्छ, घरधनी र भाडावालको सम्बन्ध सधैँ सहज र सम्पन्न अवस्थामा मात्र होइन, असहज परिस्थितिमा पनि सहयोगी बनेर एकअर्काको दुःख बुझ्न सक्ने हुनुपर्छ, हामीले त्यसैको शुरुआत गरेका हौँ ।” कँडेलले भने। उनले लेकसाइडका अन्य घर धनिले पनि अहिलेको विषम अवस्था ध्यान दिएर घरभाडामा छुट र सहुलियतको लागि मन सानो गर्न नहुने बताए ।
उनकी पत्नि नर्मला कँडेलले तीन महिनाको ६ लाख भाडा र थप सुविधाका लागि व्यवसाय पुनः सञ्चालन नहुँदासम्म ५० प्रतिशत भाडा सहुलियत गर्न निर्णय गरेको बताइन् । उनले भने “हामी पनि भाडानै बसेर व्यवसाय गरेका छौ, सहज अवस्था पक्कै छैन, अहिले स्वविवेक प्रयोग गरेर एकअर्का बीचको सम्बन्धलाई मजबुत गराउन सक्नुपर्छ, हिजो व्यवसाय सञ्चालन हुँदा सहज रुपमा भाडा दिने भाडावालहरुलाई अहिले ताकेता गरेर भाडा माग्न नैतिकताले दिएन अनी हामी भाडा छुट गर्ने निर्णय ग¥यौँ ।”
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले विषम परिस्थितिमा पर्यटन व्यवसायीको समस्या बुझेर कँडेल दम्पत्तीले गरेकाे तीन महिनाको भाडा र थप भाडामा ५० प्रतिशत छुट निकै सकारात्मक भएको भन्दै अन्य घरधनीले पनि अनुशरण गर्नु पर्ने बताए । उनले भने, “हामीले पटक पटक आग्रह गर्दै आएका छौ, व्यवसायीलाई पलायन हुनबाट जोगाउन राज्य र घरधनीबाट पनि सहुलियत होस् भनेर उहाँहरुबाट शुरुआत भयो यो सकारात्मक हो, अब अरुबाट पनि अपेक्षा गर्दछौँ ।”