शैक्षिक गन्तव्यहरु सुरक्षित छन् , इक्यानका प्रथम सचिव वासुदेव दाहालको विचार

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार २६, शुक्रबार,०९:५७:AM  
शैक्षिक गन्तव्यहरु सुरक्षित छन् , इक्यानका प्रथम सचिव वासुदेव दाहालको विचार

भाइरसको प्रभावले अहिलेको अवस्था जे–जस्तो देखिएपनि विदेशमा अध्ययन गराउन पठाउने संस्थाहरुको भविष्य अझै राम्रो देखिन्छ । तत्कालका लागि अडिन समस्या सबैलाई भएको छ तर यो समस्याबाट पार गर्न सके धेरैलाई फाइदा हुन सक्छ ।

नेपालको परिपे्रक्ष्यमा हाम्रो अध्ययनका गन्तव्यहरु अमेरिका, युके, अस्ट्रेलिया, जापान नै प्रमुख हुन् । पछिल्लो समय अवस्था हेर्दा पहिलो अस्ट्रेलिया, त्यसपछि जापान र पछि अरु देशहरु पर्ने गरेका छन् । विश्वका विद्यार्थीहरुको चाप हेर्दा पहिलो अमेरिका, दोस्रो युके र तेस्रोमा अस्ट्रेलिया पर्न सक्छ तर नेपालको हकमा पहिलो अस्ट्रेलिया नै हो ।

ती मुलुकहरुले कोरोना भाइरसको संक्रमणपछि गरेको ट्रिप अत्यन्त सुन्दर छ । जस्तो, अस्ट्रेलियाको कुरा गर्दा त्यहाँको सरकार, निजी क्षेत्र र विश्वविद्यालयहरुले आर्थिक होस् या अन्य कुनै न कुनै प्याकेजको रुपमा सहयोग गरिरहेको छ । होइन भने आजको मितिसम्म त्यहाँका विद्यार्थीहरुको अनगन्ती रुवावासी सुन्नुपथ्र्यो तर अहिलेसम्म कुनै त्यस्ता घटना आएका छैनन् । त्यसको मतलव अस्ट्रेलियामा अध्ययन गर्न गएका कुनै पनि विद्यार्थीहरु भाइरसबाट समस्याग्रस्त छैनन् भन्ने नै हो ।

केही सामान्य समस्या सुरुमा आएको थियो, त्यो बेला गैरआवासीय नेपाली संघ (एनआरएनए), इक्यान आफ्नो भूमिका खेलेकै कारण समाधान भएको छ । इक्यानले कोभिड हेल्थ डेस्क नै स्थापना गरेका छौ“ । त्यहाँ सबै विद्यार्थीहरुलाई फाराम भर्न लगाएका थियौ“, त्योबेला धेरै कम समस्या देखाएका थिए । सहयोगका अपेक्षा धेरै कम आएका थिए र जति आएका थिए, ती सबैलाई दिइसकेका छौ“ ।

जापान सरकारले त्यहाँ रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ किनकि उनीहरुले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सम्मान गर्न जानेका छन् । त्यसकारण यो सहयोगहरुले भविष्यमा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई सुरक्षित भइन्छ भन्ने सन्देश यसले दिएको छ । अहिले भनेको प्राविधिक समस्या मात्र हो ।

एनओसी बन्द भएको छ, फ्लाइट बन्द छन् । यो भनेको निश्चित समयका लागि मात्र हो । यदि कुनै पनि व्यवसायको सैद्धान्तिक मर्ममा नै प्रहार हुन्छ भने त्यो व्यवसायको भविष्य देखिदैन । तर, हाम्रो व्यवसायको कोर भ्यालुमा अहिले प्रहार भएको छैन । अहिले आएको समस्या भनेको प्राविधिक मात्र हो ।

कोभिडको अन्त्यपछि कुनै–कुनै रुपले हरेक गन्तव्य चाहे त्यो न्युजिल्यान्ड, क्यानाडा, कोरिया, अस्ट्रेलिया, युके र अमेरिका जुन भए पनि यिनीहरुको अन्तर्राष्ट्रिय विद्यार्थीलाई हेर्ने अध्यागमन प्रक्रियामा व्यापक परिवर्तन हुने वाला छ ।

अहिलेकै व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आकर्षण गरिरहेका बेला कोभिड पछि थप आकर्षण गराउनका लागि विभिन्न देशले आकर्षक नियमहरु ल्याउन सक्छन् । शैक्षिक रुपमा विभिन्न मुलुकहरुले आफ्नो देशलाई प्रमुख गन्तव्यको रुपमा विकास गर्न प्रतिस्पर्धा गर्ने निश्चित छ ।

यसको अर्थ उनीहरुका निम्ति अन्तर्राष्ट्रिय विद्यार्थी नै ठूलो आम्दानीको स्रोत हो र सम्बन्धित मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ठूलो भूमिका हुन्छ । त्यसैले ती मुलुकहरुले पक्कै पनि विदेशी विद्यार्थीहरुका लागि थप प्याकेजहरु ल्याउनका लागि अध्ययन गरिरहेका छन् । त्यसैले शैक्षिक परामर्श व्यवसायीहरु आत्तिइहाल्नुपर्ने अवस्था छैन । इक्यानमा ४ सय ६३ वटा संस्था आबद्ध छन् ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी विचार बाट थप

Top