काठमाडौं । असार १ गतेदेखि २५ गतेसम्म (२५ दिनको अवधिमा) ३ सय ६ जना व्यापारी ऋण नतिरेर कालो सूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले उपलब्ध गराएको तथ्यांक अनुसार २५ दिनका अवधिमा ३ सयभन्दा बढी व्यापारी ऋण नतिरेर कालो सूचीमा परेका हुन् ।
केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार जेठ मसान्तसम्म ऋण नतिर्नेको संख्या १२ हजार एक सय ६० रहेको थियो भने असार २५ सम्म आइपुग्दा १२ हजार ४ सय ६६ जना पुगेका छन् । त्यसैगरी, जेठ महिनाको तुलनामा असारमा कालोसूचीमा पर्नेको संख्या दोब्बरभन्दा पनि बढी रहेको सूचना केन्द्रले उपलब्ध गराएको तथ्यांकमा देखिएको छ ।
जेठ महिनामा १ सय ४५ जना ऋण नतिरेर कालोसूचीमा परेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले ४÷५ वर्षको अवधिमा कर्जा प्रवाह पनि बढी भएको र ऋण नतिर्नेको संख्या पनि सोही अनुसार बढेको बताए । ‘जति बढीले ऋण लिए, त्यही बढी ऋण नतिर्नेको संख्या पनि बढ्ने भयो,’ भट्टले भने ।
केन्द्रीय बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार २०७२÷०७३ असारमा १४ खर्ब रुपैयाँ ऋण प्रवाह भएको थियो । २०७६÷०७७ सम्म आइपुग्दा ३२ खर्ब रुपैयाँ ऋण प्रवाह भएको छ ।
‘ऋण लगानी बढेसँगसँगै नतिर्नेको संख्या पनि बढ्ने गर्छ’ भट्टले भने, ‘सिस्टम ठूलो हुने वित्तिकै डिफल्ड हुनेहरुको संख्या पनि बढिहाल्छ ।’ २०७२÷०७३ को एनपीएल पनि २ प्रतिशत नै थियो । अहिले पनि प्रतिशत त त्यही नै छ । १४ खर्बको २ प्रतिशत र ३२ खर्बको २ प्रतिशतमा तुलना नहुने केन्द्रीय बैंकको भनाइ छ ।
तर, यसलाई कसरी घटाउन सकिन्छ भन्ने विषयमा बैंकहरुले सोच्नुपर्ने भट्ट बताउँछन् । ‘खराब ऋणीको संख्या बढ्नु पक्कै राम्रो होइन्,’ उनले भने । कर्जा सूचना केन्द्रका अनुसार अहिले खराब ऋणीको संख्या १२ हजार ४ सय ६६ जना पुगेका छन् ।
यो भनेको बैंकबाट ऋण लिने कुल ऋणीको संख्याको एक प्रतिशत भन्दा कम हो । केन्द्रीय बैंकका अनुसार अहिले १५ लाखले बैंकबाट ऋण लिएका छन् ।