जथाभावी वनजंगल फडानीका कारण मानिस प्रकृतिबाट टाढा हुँदै गएको छ । मानिस र प्रकृतिको सम्बन्ध घनिष्ठ छ । आधुनिक व्यस्त जीवनशैलीका कारण अहिले मानिससँग हरियाली वातावरणमा रम्ने फुर्सद पनि छैन । सोही कारण घरमा, बगै“चामा बनाउने मात्र होइन, घरभित्रै गमलामा विभिन्न जातका बिरुवा लगाउने प्रचलन बढेको छ ।
यद्यपि, सहरी क्षेत्रमा बगैचा बनाउने जमिनको सुविधा पनि सबैलाई नहुन सक्छ । त्यसैले यसको उपयुक्त विकल्प अहिले इन्डोर प्लान्ट (घरभित्र हुने फूल–बिरुवा) हुन सक्छन् । इन्डोर प्लान्टले वातावरण रमणीय बनाउनुको साथै घरको हावा शुद्ध बनाउनसमेत सहयोग पनि गर्छ । हरिया बिरुवाले मनमा शान्ति प्रदान गर्छ ।
यसबाट बालबालिकाले विभिन्न बोटबिरुवासम्बन्धी ज्ञान हासिल गर्ने अवसरसमेत पाउँछन् । इन्डोर प्लान्टलाई अरू फूलबिरुवाको तुलनामा रोप्न र हुर्काउन सजिलो हुने भएकाले यसको माग बढेको सम्बद्ध व्यवसायी बताउँछन् । इन्डोर प्लान्ट रोप्दा घर तथा अफिसमा हरियाली हुनुका साथै स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ ।
घर तथा अफिसम दुई प्रकारका प्लान्ट इन्डोर राख्न सकिन्छ । एक प्रकारको इन्डोर प्लान्टमा फूल फुल्छ भने अर्कोमा फुल्दैन । फूल नफुल्ने बिरुवाका पात तथा बोट सधै“ हरियो हुने गर्छन् । यस्ता खालका बोटमा फूल नभए त्यसको हरियालीले आनन्द प्राप्त हुन्छ ।
अफ्रिकन भायोलेट, अर्किड, हेबिस्कस, बेगोनिसजस्ता बिरुवा फूल फुल्ने इन्डोर प्लान्ट हुन् । त्यसैगरी फर्न, बर्ड नेस्ट फर्न, लेडी पाल्म, मनिप्लान्ट, लक्की ब्याम्बो, युका, डान्सिङ ब्याम्बो, इस्पाइडर प्लान्ट आदि फूल नफुल्ने इन्डोर प्लान्ट हुन् ।
यी दुवै इन्डोर प्लान्टले हावा शुद्ध बनाउन सहयोग गर्छन् । साथै, यिनका थप विशेषता पनि छन् । फूल फुल्ने इन्डोर प्लान्टले फूलको माध्यमबाट घरमा एक किसिमको वासना दिन्छन्, जसले गर्दा घरमा दुर्गन्ध आउन पाउँदैन । फूलले सजिलै मानिसलाई आफूतिर आकर्षित गर्न सक्छ । त्यसैगरी फूल नफुल्ने इन्डोर प्लान्टले फूल फुल्ने इन्डोर प्लान्टको तुलनामा बढी मात्रामा अक्सिजन निकाल्छ ।
बिरुवालाई राम्रोसँग हेरचाह गरे यसले घर तथा अफिसको वातावरणमा रौनक थप्छ । आवश्यक मात्रामा सूर्यको प्रकाश, हावा, पानी, माटो तथा मल दिएमा यसले बाहिरी बगै“चाको चाहना घर तथा अफिसभित्रै पूरा गर्न सक्छ ।
समय अभाव छ र आफूले लगाएका फूल–बिरुवालाई उचित हेरचाह गर्न सकिँदैन भने लक्की ब्याम्बो, डान्सिङ ब्याम्बो, युका आदि हेरचाह गर्न सजिला बिरुवा लगाउन सकिन्छ । यी तीन इन्डोर प्लान्ट ‘गिफ्ट सप’ मा सजिलै उपलब्ध हुन्छन् ।
यी प्लान्ट बैंकक, दार्जिलिङ आदि ठाउँबाट आयात गरिन्छ । वास्तुशास्त्रअनुसार पनि यी बिरुवाले घर तथा अफिसमा शान्ति कायम गर्ने विश्वास गरिन्छ । साथै, घर तथा मानिसमा लाग्ने दशा यसको पातमा लागेर जाने विश्वाससमेत रहेको छ । यसलाई घर तथा अफिसको जुनसुकै ठाउँमा राख्न सकिन्छ ।
यसलाई सफा पानी र सिसाका अथवा माटाका भाँडामा राख्न सकिन्छ । सधै नभए पनि २÷३ दिनको अन्तरालमा पानी फेरे यो ६ वर्षसम्म हरियो रहिरहने बताइन्छ । लक्की ब्याम्बो र युकाको मूल्य त्यसको भाँडोसहित ५ सय ५० रुपैयाँ तथा प्लान्टको ३ सय ५० जति पर्छ । त्यसैगरी डान्सिङ ब्याम्बो लामो हुने हुँदा यसलाई लामो भास चाहिन्छ । यस्ता इन्डोर प्लान्ट नफुले पनि बैठक कोठालाई आफ्नो हरियो रङले सधै“ आकर्षक राख्छन् ।