काठमाडौं । स्थापनाकाे ३६ वर्ष प्रवेश गरेको नबिल बैंकले आइतबारदेखि युवापुस्तालाई लक्षित गर्दै ‘नबिल डिजीबैंक’ सुरु गरेको छ । आधुनिक बैंकिङलाई सरल र सहज बनाउनका लागि नबिलले डिजिटल बैंकिङलाई आक्रमक रुपमा अगाडि बढाउँदै डिजिटलमा लगानी बढाएको हो । बैंकले डिजिटल प्लेटफर्ममार्फत प्रेसमिट गर्दै डिजीबैंक लन्च गरेको हो ।
‘हामी ६ वर्षमा डिजिटल बैंकिङ्गमा अग्रणी हुनेछौं, विगत ३६ वर्षदेखि अहिलेको बैंकिङ्गमा हामीले लिड गरेजस्तै डिजिटलमा पनि हामीलाई अरुले पछ्याउने छन्,’ भर्चुअल प्रेसमिटमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने । ‘डीजीबैंक बैंकभित्रको अर्को बैंक हुने छ’, अबको बैंकिङ डिजिटल नै हो तर भविष्यमा होइन वर्तमानमा हो ।’
‘हामीले पहिला पनि डिजिटल बैंकिङ गरेको हो अनलाइनबाट खाता खोल्ने सुविधा १० वर्षअगाडि नै थियो अब हामी यसमा निरन्तरता दिदैं नयाँ चरणमा जान्छौं,’ उनले भने ।
बैंकले डीजी बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरिसकेको छ । डीजी बैंकिङको प्रमुखमा विनयकुमार रेग्मी छन् । उनी मातहत बैंकले ७२ कर्मचारी राखेको छ ।
नबिलले डीजी बैंकिङलाई अगाडि बढाउन एकसाताअघि हुवावे कम्पनीसँग रणनीतिक साझेदारी गरेको थियो । ‘हामीले डीजीबैंकका लागि हुवावेसँग साझेदारी गरिसकेका छौं,’ शाहले भने ।
हुवावे नेपालका प्रमुख डेनी देङले नबिलसँगको साझेदारीले नेपाली ग्राहकलाई डिजीटल बैंकिङको सेवा पु¥याउन सहयोगी हुने बताए । ‘हामीले हाम्रो प्रविधिमार्फत उच्चतम सेवा दिन्छौं,’ उनले भने ।
बैंकमा हुने सबै सुविधा डीजीबैंकमा उपलब्ध हुन्छ, घरबाट नै बैंकको सबै सुविधा हुने भएकाले ग्राहकलाई बैंकसम्म आउने वातावरण नै नहुने उनले बताए ।
हुवावे नेपालका प्रमुख डेनी देङले हुवावे मोबाइल कम्पनी मात्रै नभइ अग्रणी आईसीटी कम्पनी समेत भएकाले नबिल बैकसँग सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताए । उनले डिजिटल बैंकिङलाई नयाँ ढंगले अघि बढाउन सहयोगी भूमिकामा काम गर्ने बताए ।
त्यस्तै,नबिल डीजी बैंकका चिफ विनय रेग्मीले डिजी बैंकको उद्देश्य बैंकलाई पूर्णरुपमा डिजिटलमा लैजानु रहेको बताए । हालसम्म ६५ प्रतिशत जनसंख्यामा बैंकको खाता रहेको र बाँकी जनसंख्यालाइ पनि डिजिटल बैंकिङमा पहुँच पु¥याउन डिजी बैंक कोशेढुंगा हुने उनले बताए ।