काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण नेपालमा ८१ प्रतिशत व्यवसाय सञ्चालन राेकिएकाे अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) र अन्तर्राष्ट्रिय श्रम संगठन मिलेर ‘कोभिड १९ ले व्यवसायमा पारेको असर’ नामक अध्ययन अनुसार नेपालमा चैत ११ पछि असार २ गतेसम्म ८१ प्रतिशत व्यवसाय बन्द भएका हुन् ।सरकारले असार २ गतेपछि लकडाउनलाई केही खुलुलो बनाए पछि व्यवसाय खोलिएको छ ।
सीएनआईले देशभरका एक सय भन्दा बढी व्यवसायीसँग सर्वेक्षण गरेको थियो । १७ प्रतिशत व्यवसायीले आफ्नो व्यवसाय बन्द नभएको बताएका छन् भने २ प्रतिशतले कुनै प्रतिक्रिया नदिएको अध्ययनमा देखिएको छ ।
सरकारले पूर्ण लकडाउन गरेकाले अत्यावश्यक बाहेक कुनै व्यापार व्यवसाय सञ्चालन गर्न पाइँदैन्थ्यो । त्यही भएर ८१ प्रतिशत बन्द भए भने १७ प्रतिशत अत्यावश्यकभित्र परेकाले सञ्चालनमा रहेको अध्ययनमा उल्लेख गरिएको छ ।
कोरोनाले देशको व्यापार व्यवसायमा कति असर पुर्यायो भन्ने अहिलेसम्म एकिंन तथ्यांक सार्वजनिक हुन सकेको थिए । तर, सीएनआईले अन्तर्राष्ट्रिय श्रम संगठनसँग मिलेर पहिलो पटक व्यापार व्यवसायमा परेको असर निकालेको हो ।
३२ प्रतिशत प्रतिष्ठानले ११ देखि ५० जनालाई रोजगारी दिएका थिए । त्यसैगरी, २८ प्रतिशत प्रतिष्ठानले ५१ देखि २ सय ५० जनालाई रोजगारी दिएका थिए । त्यसैगरी, २२ प्रतिशत प्रतिष्ठानले २ सय ५० भन्दा बढीलाई रोजगारी दिएका थिए । १८ प्रतिशत प्रतिष्ठानले १० जनालाई रोजगारी दिएको अध्ययनमा देखिएको छ ।
सीएनआईले सेवामुलक उद्योग, ट्रान्सपोर्ट, टेक्स्टाइल, गार्मेन्ट, लेदर, फुटवेयर, स्वास्थ्य, हस्तकला, खाद्य, पिय पदार्थ, टोबाको उद्योगलाई अध्ययनमा सहभागि गराइएको छ ।