काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजनीति गर्न र फोटो झुण्डयाउन मात्र महासंघको नेतृत्वमा नआएको बताउनुभएको छ । महासंघको चुनावका लागि किशोर प्रधान समूहको उम्मेदवारी घोषणा समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले आफु राजनीति गर्न र फोटो झुण्ड्याउन नभई काम गर्न महासंघको नेतृत्वमा आएको बताए ।
उनले महासंघ आफ्नो पुर्खा, पूर्व अध्यक्षहरु र सबै पदाधिकारीहरुको रगत पसिनाबाट बनेकाले त्यसलाई अझ बलियो बनाउन आफुले काम गर्ने प्रस्ट पारे ।
उनले भने, ‘मेरो नीति स्पस्ट छ । यसको लागि मलाई टिम चाहिन्छ । साथीहरुलाई विनम्र अनुरोध गर्छु मैले राजनीति गर्नको लागि, फोटो झुण्ड्याउनको लागि यहाँ आएको होइन । म केही काम गर्नको लागि आएको छु । यो संगठन जसमा मेरो बाउबाजेको रगत पसिना छ, पूर्व अध्यक्षहरुको रगत पसिना छ, मेरो दाईहरुको रगत पसिना छ र सबै पदाधिकारीहरुको रगत पसिना छ । यो संगठनलाई म अझ बलियो बनाउनको लागि आएको हो । फोटो झुण्ड्याउनका लागि आएको होइन ।’
महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले उद्योगी र व्यवसायी धेरै मर्कामा परेकाले महासंघले धेरै विषयवस्तु उठाउनु पर्ने बताए । त्यस्तै, पूर्वअध्यक्ष रवीभक्त श्रेष्ठले चुनाव नचाहेको बताउँदै आगामी नेतृत्वले सरकारसँग एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले दुवै टीमलाई शुभकामना समेत दिए ।
त्यस्तै, निवर्तमान अध्यक्ष पशुपति मुरारकाले यो निर्वाचनलाई नमुना निर्वाचनको रूपमा विकास गर्नुपर्ने बताए । उनले आरोप प्रत्यारोप र तडक भडकभन्दा टाढा रहेर चुनावको वातावरण बनाउनुपर्ने बताए । उनले सवै मतदाताले उम्मेद्वार चिनेको भन्दै व्यवहार र कामले मात्रै मत पाउने बताए ।