कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो, नेपाल ६५ औं स्थानमा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १७, शनिबार,०६:०८:PM  
कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो, नेपाल ६५ औं स्थानमा 

काठमाडौं । देशभर २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको  छ । यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको ।

सक्रिय सङ्क्रमण भएका कुल ५ हजार ५३८ व्यक्ति आइसोलेशनमा छन्। निको हुनेको सङ्ख्या १४,४९२ रहेको छ । अहिले देशभरिका क्वारन्टीनमा ११,५३३ जना छन्।

 मन्त्रालयले लकडाउन खुकुलो पारिएको ११ दिन अघि र ११ दिन पछिको तुलना गरेर आँकडा प्रस्तुत गर्दा यो अवधिमा सङ्क्रमण पाइने दर ०.८ प्रतिशतले बढेको देखिएको जनाएको छ।

साउन ७ देखि १७ गतेको अवधिमा ५८ हजार १७४ पीसीआर परीक्षण गरिएको  छ । त्यसमा २ हजार ९२ जना सङ्क्रमित पाइएको छ। संक्रमण दर ३.८५प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।

नेपाल ६५ औँ स्थानमा

विश्वका विभिन्न देशमा कोरोना भाइरस सङ्क्रमितहरूको आँकडा राख्दै आएको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तालिका अनुसार शनिबार अपरान्हसम्म धेरै सङ्क्रमित भएका मुलुकको सूचीमा नेपाल ६५ औँ स्थानमा छ ।

दक्षिण एसियामा सबभन्दा धेरै सङ्क्रमित भारत अनि त्यसपछि पाकिस्तान, बंगलादेश तथा अफगानिस्तानमा पाइएका छन्।
भारतमा करिब १७ लाख सङ्क्रमित पुगेका छन् ।

भारत विश्वमै तेस्रो स्थानमा छ। पाकिस्तान पौने तीन लाख सङ्क्रमित सहित १३ औँ अनि बंगलादेश २ लाख ३७ हजार सहित १६ औँ स्थानमा छन्। माल्दिभ्स, श्रीलङ्का तथा भुटानमा नेपालमाभन्दा कम सङ्क्रमित पाइएका छन ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top