काठमाडौं । सरकारले प्राइमरी र सेकेन्डरी स्टिल छुट्याउने विषयमा छलफल सुरु गरेको छ । संसारभर रड प्राइमरी र सेकेन्डरी भनेर बिक्री गर्ने प्रचलन रहे पनि नेपालमा अहिलेसम्म यस्तो व्यवस्था थिएन ।
अहिले नेपाल गुणस्तर तथा नापतौल विभागले त्यसको वर्गिकरण गर्ने विषयमा आवश्यक छलफल सुरु गरेको हो । प्राइमरी र सेकेन्डरी रड बन्ने कच्चा पदार्थ नै फरक फरक हुन्छन् । तर, नेपालमा उद्योगीले जुनसुकै कच्चा पदार्थबाट बनेको भए पनि रड भनेर बेचिरहेका छन् ।
उद्योगीले जुनसुकै कच्चा पदार्थबाट बनाएको भएपछि रडको नाम दिएर बेचेकाले उपभोक्ताले कुन कच्चा पदार्थबाट बनेको रड किन्दै छु भन्ने जानकारी नै हुँदैन । त्यही भएर विभागले प्राइमरी कच्चा पदार्थबाट बनेको रडलाई प्राइमरी लेख्न बाध्य बनाउने र सेकेन्डरी कच्चा पदार्थबाट बनेको रडलाई सेकेन्डरी लेख्न बाध्य बनाउने गरी आन्तरिक गृहकार्य गरेको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
‘छिमेकी देशसहित अन्य मुलुकमा भएको अभ्यासलाई हेरिरहेका छौं,’ पुडासैनीले क्यापिटल नेपालसंगभने, ‘कतिपय देशले प्राइमरी कच्चा पदार्थबाट बनेको रडलाई प्राइम लेख्ने गरेका रहेछन्, सेकेन्डरीबाट बनेकोलाई केही नलेख्ने पनि गरेका रहेछन् ।’ उनका अनुसार अहिले विभागले पनि उद्योगीसँग पनि छलफल गर्ने तयारी गरेको छ ।
जसरी सरकारले सिमेन्टमा ओपीसी, पीपीसी, र पीएससी भनेर नामाकरण गरेको छ । त्यसैगरी, रडमा पनि प्राइमरी र सेकेन्डरी भनेर नामाकरण गरिदिने बित्तिकै उपभोक्ताले आफ्नो इच्छा र आवश्यकता अनुसारको रड किन्ने उपभोक्ताकर्मीहरु बताउँछन् ।
यो पनि पढ्नुहोस:
उपभोक्तालाई कहिलेसम्म झुक्याएर रड बेचिरहनेरु उपभोक्ताकर्मी भन्छन्, ‘प्राइमरी र सेकेन्डरी लेख्नुपर्छ’
‘प्राइमरी र सेकेन्डरीबाट बनेको रडको मापदण्ड छ । तर, उपभोक्ताले कुन रड किन्दै छु भन्ने कुरा जानकारी हुनुपर्छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधब तिमिल्सेनाले भने, ‘अहिले जुन कच्चा पदार्थबाट बनेको भए पनि रड भनेर बेचिन्छ । त्यसलाई छुट्याउन आवश्यक छ ।’
विभागका महानिर्देशक पुडासैनीका अनुसार खानीबाट आएको फलामलाई ब्लास्ट फर्नेक्समा हालेर त्यहाँबाट रड बनाउँछन, जसलाई प्राइम स्टिल भनिन्छ । सेकेन्डरी भनेको ‘स्क्रयाब‘ तथा स्पोन्ज आइरनलाई भट्टीमा पगालेर बनाइने रड हो ।
कुन राम्रो वा कुन नराम्रो भन्दा पनि उपभोक्ताले सेकेन्डरी कच्चा पदार्थबाट बनेको रड प्रयोग गरिरहेको छ कि प्राइमरी कच्चा पदार्थको प्रयोगबाट बनेको रड प्रयोग भइरहेको छ भन्ने थाहा पाउनु उनीहरुको अधिकार भएकाले सरकारले त्यसमा काम सुरु गरेको उनको भनाइ छ ।
उपभोक्ताकर्मी तिमिल्सेनाका अनुसार सरकारले उद्योगीलाई अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी लेख्न बाध्य बनाउनुपर्छ । एउटै फ्याक्टीले प्राइमरी र सेकेन्डरी रड बनाइरहेका छन् । तर, त्यसमा कुन प्राइमरी स्टिल, कुन सेकेन्डरी स्टिल भनेर लेखिँदैन । नलेख्ने बित्तिकै उपभोक्ताले कुन स्लिट खरिद गर्यो भने थाहा नहुने उनको भनाइ छ ।
अहिलेसम्म बजारमा रड मात्रै पाइन्छ । प्राइमरी भनेको भर्जिन कच्चा पदार्थबाट बनेको हुन्छ, सेकेन्डरी एक पटक प्रयोग भइसकेको फलामलाई पगालेर पुन रड बनाइएको हुन्छ भन्ने कुरा उपभोक्तालाई थाहा दिनुपर्ने उनीहरुको भनाइ छ ।