काठमाडौं । सरकारले भविष्यमा आउँने स्टार्टअप कम्पनीको लागी२ प्रतिशतमा ऋण सहजीकरण गर्ने तयारी गरेको छ । केहि समयअघि सरकारले उद्यमशीलताको विकासका लागि भन्दै केही समयअघि स्टार्टअपलाई ५० लाखसम्म रकम अनुदान दिने चर्चा चलेको थियो । सयौं स्टार्टअपहरूले आवेदनसमेत दिएका थिए । अब भने राष्ट्रिय योजना आयोगले स्टार्टअपलाई अनुदान नभई २ प्रतिशत ऋणमा रकम उपलब्ध गराउने तयारी गरेको हो ।
अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र योजना आयोगको सहकार्यमा स्टार्टअपलाई ऋण दिने कार्यविधि अघि बढिसकेको योजना आयोगका सदस्य डा. रामकुमार फुयालले जानकारी दिए । डिजिटल संवाद कार्यक्रममा बोल्दै फुयालले गत आर्थिक वर्षमा ७६९ प्रस्तावहरू प्राप्त भएको र यसमा छनौट गरी ऋण दिने प्रक्रिया अघि बढिरहेको बताए । यसैगरी उनले अबको यस आर्थिक वर्षका लागि पनि प्रस्ताव आह्वान गरेर धेरैलाई यस क्षेत्रमा सहजीकरण गर्ने बताए ।
सरकारले तत्काल ५० करोड स्टार्टअपलाई लगानी गर्ने र ५ अर्बको कोष बनाएर निरन्तर सहयोग गर्नेगरी कार्य योजनाहरू ल्याइरहेको उद्योग विभागका निर्देशक प्रेमप्रसाद लुइटेलले जानकारी दिए ।
डिजिटल संवादमा भएको छलफलमा स्टार्टअप कम्पनीहरुलाई उकास्न सरकारले कुनै पहल नगरेको बताइएका छन् । सरोकारवालाहरुले नेपालमा विगत १० वर्षमा हजार बढी स्टार्टअपहरू जन्मिएका छन् । तर, धेरै स्टार्टअपहरू विभिन्न समस्या, लगानीको अभाव र सरकारी असहयोगका कारण पनि विलीन भएको अवस्था रहेको बताएका छन् । नेपालमा स्टार्टअप सम्बन्धी सरकारको पोलिसी, योजना र प्रभावकारी कामको कमीले पनि उद्यमशीलताको विकास हुन नसकेको विज्ञहरूले औंल्याएका छन् ।
डिजिटल नेपालको अभियान शुरू हुँदै गर्दा डिजिटल स्टार्टअपको आवश्यकता र यसको प्रवद्र्धनमा सरकारले काम गर्न सकेमात्र विकास दिगो हुन सक्ने पूर्वमन्त्री गणेश शाहले बताए । लगानीको मुख्य समस्या रहेको भन्दै शाहले बैंकहरू पनि स्टार्टअपमैत्री नभएको गुनासो व्यक्त गरे ।
यसैगरी पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकारले इन्नोभेसन र प्रविधिलाई अझै बुझ्न नसकेकोमा गुनासो व्यक्त गरे । देश विकासको सपना देख्ने हो भने उद्यमशीलताको विकास र डिजिटल प्रविधिको प्रवद्र्धनमा सरकारले लगानी गर्नुपर्ने जोशीको भनाइ थियो ।
१६औं शृंखलाको डिजिटल संवादमा बोल्दै उद्योग विभागका निर्देशक प्रेमप्रसाद लुइटेलले स्टार्टअपका लागि ५० करोड तत्काल लगानी गर्ने र ५ अर्बको कोष बनाएर बृहत् रूपमा उद्यमशीलताको विकासमा लाग्नेगरी काम भइरहेको बताए । अब आइडिया, कन्सेप्टलाई उद्योगसँग जोडेर अघि बढ्न युवाहरूलाई आग्रह गर्दै लुइटेलले ७५३ स्थानीय निकायमा नै कार्यक्रमहरू शुरू भइरहेको जानकारी दिए ।
डिजिटल स्टार्टअपका लागि शिक्षादेखि लगानीसम्म त्यत्तिकै महत्वपूर्ण रहेको भन्दै नेपाल आन्टरप्रेनर्स हबका सहसंस्थापक सुमन शाक्यले आन्टरप्रेनर्स इकोसिस्टमको विकासमा जोड दिनुपर्ने बताए । अवसर खोज्दै विदेशिरहेका युवालाई आकर्षित गर्न सरकारको स्पष्ट योजना र त्यसको सही कार्यान्वयन सहित एक्सनमा जान ढिला भइसकेको शाक्यको भनाइ थियो ।