काठमाडौं । मर्जर र एक्विजिसनमा जोड दिंदै आएको नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई हकप्रद सेयर निष्कासनमा कडाइ गरेको छ । न्युनतम पुँजी पुगेका बैंक तथा वित्तीय संस्थाहरुले पुँजीगत आधार बलियो बनाउन हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्न थालेपछि केन्द्रीय बैंकले यसमा कडाइ गरेको हो ।
तोकिएको न्युनतम पुँजी पुगेकाले हकप्रद सेयर निष्कासन गर्न आवश्यक नभएको राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।
‘हकप्रद सेयर निष्कासन गर्न रोक लगाएको नभई आवश्यकताका आधारमा मात्र दिइने छ । हकप्रद सेयर निष्कासन गर्नुको आधार पुष्टि भएमा अनुमति दिइने छ’ उनले भने ‘अब हकप्रद सेयर निष्कासनको आधार चाहिन्छ ।’
राष्ट्र बैंकमा एक दर्जन बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेका छन । न्युनतम पुँजी पुगेकाले पाउने संभावना कम रहेको कार्यकारी निर्देशक ढकालको भनाई छ । अब आफूखुशी हकप्रद निष्कासनको निर्णय सञ्चालक समिति र साधारणसभाबाट गर्न नपाउने उनले स्पष्टपारे ।
केन्द्रीय बैंकले निर्देशन जारी गरी लघुवित्त संस्थालाई मर्जर र एक्विजिसनमा लैजान हकप्रद सेयर निष्कासन गर्न बन्देज लगाइसकेको छ । बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी नगरी केन्द्रीय बैंकले घुमाउरो ढंगले रोक लगाउन थालेको छ ।
न्युनतम पुँजी पुर्याइसकेको राष्ट्रियस्तरको साइन रेसुङा डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासनमा रोक लगाएको छ । वार्षिक साधारणसभाले ४ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न पठाएको प्रस्ताव राष्ट्र बैंकले अस्वीकार गरेको छ । यसबाट केन्द्रीय बैंकले मर्जर र एक्वीजिसनमा जान जोड दिएको देखिन्छ ।
राष्ट्र बैंकले हालै जारी गरेको सर्कुलरमा मर्जरलाई निर्देशन भनेको छ । केन्द्रीय बैंकले वाणिज्य बैंकलाई ८ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकलाई २ अर्ब ५० करोड, वित्त कम्पनीलाई ८० करोड रुपैयाँ न्युनतम पुँजी तोकेको छ ।
राष्ट्र बैंकले २०७२ मा पुँजीवृद्धिको योजना ल्याउँदा बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद सेयर निष्कासन गरेर पुर्याएपछि वाणिज्य बैंकहरुलाई मर्जर र एक्विजिसन गराएर संख्या घटाउने केन्द्रीय बैंकको योजना असफल भएको छ ।