काठमाडौं । विराटनगरका गल्लीगल्लीमा खुलेका चक्की आँटा मिलका कारण ठुला उद्योगहरु गम्भीर संकटमा पर्न थालेका छन् । ४ लाख रुपैयाँ लगानीका दर्ता नभइ सञ्चालन भइरहेका चक्की मिलले गैरकानून रुपमा आँटा बनाएर बेच्न थालेपछि वैधानिक रुपमा खुलेका ठुला उद्योगहरु गम्भीर संकटमा परेका हुन ।
सरकारले आँटामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि गैरकानुनी रुपमा चक्की आँटाको मेसिन लगाएर आँटा बनाएर बेच्नेक्रम बढेको उद्योगीहरु बताउँछन् ।
‘अहिले गल्लीगल्लीमा गैरकानुनी रुपम चक्की आँटाका मेसिन छन्,’ एक उद्योगीले क्यापिटल नेपालसंग भने, ‘उनीहरुले भ्याट र कर दुबै तिर्नु पर्दैन् । भ्याट तिर्न नपर्ने बित्तिकै बैधानिक रुपमा खुलेका उद्योगको तुलनामा उनीहरुले प्रति प्याकेट ३० रुपैयाँ (पाँच केजीको प्याकेट) सस्तोमा आँटा बेच्न सक्छन् । त्यसोहुने बित्तिकै वैद्यानिक रुपमा खुलेका उद्योग संकटमा परेका छन् ।’
अर्गनाइज्ड प्लेयर छ, जसले सरकारलाई राजस्व तिरिरहेका छन्, त्यस्ता उद्योगीलाई अबैधानिक रुपमा खुलेका चक्की आँटाले समस्यामा परेका छन् । विराटनगरका व्यापारीका अनुसार गैरकानुनी रुपमा चक्की आँटा लागेपछि वैधानिक रुपमा खुलेका उद्योगको उत्पादन बिक्रीमा ३० प्रतिशत कमी भएको छ ।
४ लाख रुपैयाँमा एउटा चक्की किन्ने र कोठाभित्र आँटा बनाएर विभिन्न नाम राखेर बजारमा पठाउने गरिएको छ । ‘त्यसरी चलाएकाले न सरकारलाई भ्याट तिर्नुपर्छ, न आयकर नै बुझाउनुपर्छ,’ अर्का एक खाद्य उद्योगीले भने, ‘सरकारले गल्लीगल्लीमा खुलेका चक्की आँटालाई रोक्न सकेन भने खाद्यान्नबाट सरकारले पाउँदै आएको ठूलो राजस्व गुमाउने सम्भावना छ ।’
बैधानिक रुपमा खुलेका आँटा उद्योगले २८० रुपैयाँमा बजारमा आँटा पठाइरहेका छन् । यो भ्याट सहितको मूल्य हो । ५ केजीको आँटा २८० रुपैयाँमा बेच्दा सरकारलाई ३० रुपैयाँ कर बुझाउनुपर्छ । ‘तर, यहाँ गैरकानुनी रुपमा खुलेका चक्की आँटाले ३० रुपैयाँ सस्तोमा बेच्ने बित्तिकै कसले हाम्रो आँटा किन्छ ?’ ती उद्योगीले भने ।
उद्योगीका अनुसार गहुँमा भ्याट छैन् । गहुँ किनेर ल्यायो, आफूले खडा गरेको मिलमा पिँसेर प्याकेटमा हालेर बेच्ने काम भइरहेको छ । आँटामा ३ देखि ५ प्रतिशत भन्दा बढी नाफा हुँदैन । बैधानिक रुपमा चलेका सबै उद्योगले त्यही मार्जिनमा काम गर्ने हो ।
सरकारले आँटामा १३ प्रतिशत भ्याट लगाएपछि विराटनगरका गल्लीगल्लीमा चक्की मिल राख्ने काम सुरु भएको हो । किसानबाट गहुँ किन्ने र पिँसेर बेच्ने प्रचलन बढिरहेको छ । त्यस्ता मिलहरु भ्याटको दायरामा हुँदैनन् ।
५ केजीको प्याकेटमा १३ प्रतिशत भ्याट छलेरै कमाउँछ, त्यसबाहेक ५ देखि १० प्रतिशत उसै पनि मार्जिन हुने भएपछि अहिले धमाधम चक्की मिल लगाउने काम भइरहेको उद्योगीहरु बताउँछन् । यसलाई सरकारले बेलैमा नियन्त्रण गर्न सकेन भने वैधानिक रुपमा खुलेका आँटा उद्योग बन्द हुने र राज्यलाई ठूलो नोक्सानी हुने उनीहरुको जिकिर छ ।
अहिले नै आँटाको बिक्री ३० प्रतिशत कम छ । गैरकानुनी रुपमा खुलेका चक्की मिललाई नरोक्ने हो भने अर्कोवर्ष विराटनगरभरी यस्तै मिल मात्रै हुन्छन्, उनीहरुले बजार कब्जा गर्छन ।
एक खाद्य उद्योगीका अनुसार भाटभटेनी, विगमार्ट, सेल्सवेरीलगायतका सुपरमार्केटमा ठुला उद्योगबाट उत्पादन हुने आँटा मात्रै गइरहेको छ । सबै उपभोक्ता सुपरमार्केटमा मात्र किन्न जादैनन् ।
कुल व्यापारको ५ देखि १० प्रतिशत मात्रै सुपरमार्केटबाट हुन्छ । बाँकी ९० प्रतिशत त्यस बाहिरको बजारमा हुने गरेको उद्योगीको भनाइ छ । उद्योगीका अनुसार सरकारले आँटामा लगाएको भ्याट फिर्ता नलिए वैधानिक रुपमा खुलेका उद्योग गम्भीर संकटमा पर्ने अवस्थामा छन् ।