काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारीक मल सिभिल मलले ग्यापू मार्केट प्लेससँग एस्क्लुसिप सम्झौता गरेको छ । कोभिड –१९ को प्रभावले मलसम्म जान नसकिएरहेको बेला सिभिलले आफ्ना ग्राहकहरुलाई लक्षित गरी अनलाइन मार्फत सपिङ गर्न सहज होस् भनेर ग्यापू मार्केट प्लेससँग सम्झौता गरेको मलका सिनियर मार्केटिङ म्यानेजर अमिर ठकुरीले जानकारी दिए ।
सिभिल मलको फिजिकल मल सुन्धारामा रहेपनि ‘भर्चुअल मल’ भने ग्यापूमा रहने छ । सिभिलमा १५० वटा भन्दाबढी पसलहरु रहेका छन् । ती सबै पसलका सामानहरु छानिछानि खरिद गर्न सक्ने ग्यापू मार्केट प्लेसका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ज्ञानेन्द्र खड्काले जानकारी दिए ।
ग्राहकहरुले ग्यापू मार्केट प्लेसको वेबसाइटमा गएर सिभिल भर्चुअल मल मार्फत आफुलाई मन परेको पसलबाट छानीछानी ब्राण्डेड सामाग्री अर्डर गर्न सकिने बताइएको छ । त्यसका लागि मलको पसलले जति रकम निर्धारण गरेको छ,त्यही रकममा ग्राहकहरुले पाउन सक्ने छन् ।
सामान अर्डर गरेकै दिन वा दुईदिन भित्रमा सामान घरघरमा पुर्याइसक्ने गरी आवश्यक संरचना तयार गरिएको सीईओ खड्काले बताए । ग्यापूले सिभिल मलका कुनैपनि सामाग्री निःशुल्क रुपमा होम डेलिभरी गर्ने छ । त्यसका लागि छुट्टै टिम मल भित्रै बस्ने छ ।
ग्यापू मार्फत अर्डर लिएका सामाग्रीहरु ग्राहकलाई चित्त नबुझेमा वा अर्को परेमा तत्कालै साट्न सक्ने व्यवस्था समेत गरेको छ । उपभोक्ताले जसरी सिभिल मलमा सामान खरिद गर्दा विश्वास लिएका थिए,त्यहि विश्वास ग्यापू मार्केट प्लेसमा पनि पाउने उनको भनाई छ ।
मल भित्रै आएर सामान खरिद गर्दा ग्राहकलाई कोभिडको त्रास हुने भएकोले उनिहरुलाई सुरक्षित महसुस गराउने उद्धेश्यका साथ ग्यापूसँग सम्झौता गरेको सिनियर म्यानेजर ठकुरीको भनाई छ ।
सिभिलका अधिकाशं पसलमा फिक्सड मूल्य हुने भएकोले कुनै बार्गेनिङ नहुनुका साथै उपभोक्तालाई थप सहज हुने उनको भनाई छ । लकडाउनपछि मलका पसलहरुमा ६० प्रतिशतसम्म छुट दिइएको छ । जुन छुट ग्यापू मार्फत खरिद गर्दापनि पाइने छ । सिभिल मलले ग्यापूसँग २ वर्षका लागि सम्झौता गरेको छ ।
कोभिडको संक्रमणपछि गरिएको लकडाउनका बीचमा उपभोक्तालाई सहज र सरल रुपमा घरघरमा सामान पुर्याउने उद्धेश्यका साथ खुलेको ग्यापू मार्केट प्लेसले पछिल्लो समय आक्रामक ढंगबाट आफ्नो बजार विस्तार गरिरहेको छ ।
ग्यापूले लकडाउनकै बीचमा सेल्सबेरीसँग पनि सम्झौता गरिसकेको छ । तत्कालका लागि उपत्यका भित्रमात्र सेवा दिदै आएको ग्यापूले सामान्य अवस्था आएपछि १२० वटा ठाउँबाट सेवा दिन लागिएको जनाएको छ ।