काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै बीमा गर्नेको संख्या पनि बढिरहेको छ । हालसम्म ६ लाख १५ हजार जनाले कोरोना बीमा गरिसकेका छन ।
कोरोना बीमा बापत निर्जीवन बीमा कम्पनीहरुले हालसम्म ३४ करोड ६५ लाख बीमा शुल्क (प्रिमियम) संकलन गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
उनका अनुसार बीमा गरेकाहरु मध्ये ३१ जनाले दाबी भुक्तानी पाइसकेका छन् । ती मध्ये १ जनाले ५० हजार र बाँकी ३० जनाले १÷१ लाख रुपैयाँका दरले बीमा भुक्तानी पाइसकेका हुन् । यस्तै थप ५० जनाले बीमा दाबी गरेको समितिले जानकारी दिएको छ ।
समितिको निर्देशनमा बीमा कम्पनीहरुले कोरोना संक्रमण बढेसँगै ५० हजार र १ लाख रुपैयाँको बीमा सुरु गरेका थिए । सरकारले निजामति कर्मचारीहरुलाई निःशुल्क रुपमा बीमा सुरु गरेको छ ।
सरकारी कर्मचारीहरुको सामूहिक कोरोना बीमा गर्दा शतप्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । यस्तै आमनागरिकको पनि सामूहिक कोरोना बीमामा सरकारले ५० प्रतिशत अनुदान उपलब्ध गराउने चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको छ ।
बीमा समितिबाट इजाजतपत्र प्राप्त २० वटै निर्जीवन बीमा कम्पनीहरुमा बीमा गर्न सकिने छ । समितिले सामूहिक बीमा गर्न ५० हजारको लागि ३०० र १ लाखका लागि ६०० रुपैयाँ प्रिमियम तोकेको छ ।
बीमा दाबीको लागि बीमालेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको कम्पनीहरुले दावी भुक्तानी गर्ने छन् ।
बीमा कम्पनीले दावी निवेदन पेश गरेको ७ दिनभित्र बिमितलाई भुक्तानी दिनुपर्ने छ । यदी दाबी भुक्तानी नहुदै बिमितको मृत्यु भएमा उसले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।