काठमाडौं । बढ्दो कोरोना भाइसर संक्रमणका कारण बन्दाबन्दी (लकडाउन) कायम रहिरहे सबै उद्योग/व्यवसाय बन्द हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको कोभिडले पारेको असरको अध्ययनले उद्योग/ व्यवसायहरुले अब थप लकडाउन थेग्न नसक्ने देखाएको हो ।
बन्दाबन्दी पश्चात् उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन औसतमा करिब ९ महिना लाग्ने अध्ययनले देखाएको छ । सर्वेक्षणमा सहभागी अधिकांश उद्योग/व्यवसायहरुले बन्दाबन्दी पश्चात् अहिलेकै व्यवसायलाई निरन्तरता दिने, केहीले व्यवसाय बिक्री वा बन्द गर्न चाहेको समेत देखिएको राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्टले बताए । उनका अनुसार बन्द गर्न चाहनेमा केही घरेलु उद्योग, लघु साना खुद्रा व्यापार र साना रहेका छन् ।
अधिकांश उद्योग/व्यवसायहरुले सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी/कामदारको रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्ने बताएका छन ।
बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागीलाई सञ्चालन खर्च व्यहोर्न चालु पूँजीको अभाव, उत्पादनको बिक्री वितरणमा कठिनाइ र बजारमा मागको कमी लगायतका समस्याहरु पाइएको छ ।
उद्योग÷व्यवसायहरुको कर्जा सम्पत्ति अनुपात औसतमा ४८.७ प्रतिशत छ । ‘उच्च कर्जा सम्पत्ति अनुपातले कमजोर पूँजी संरचनाको अवस्थालाई इङ्गित गर्छ’ प्रतिवेदनमा भनिएको छ ‘अर्थतन्त्रका अधिकांश क्षेत्रमा कर्जा सम्पत्ति अनुपात झण्डै आधा देखिनुले वास्तविक अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावको प्रत्यक्ष असर वित्तीय क्षेत्र स्थायित्वमा सहजै पर्न सक्नेतर्फ संकेत गर्छ ।’
उद्योग/ व्यवसायहरुको कुल खर्चमा स्थिर खर्च र चालु खर्चको हिस्सा क्रमशः ३७.६ प्रतिशत र ६२.४ प्रतिशत रहेको देखिन्छ । चालु खर्चको हिस्सा अधिक रहनुले बिषम परिस्थिति पश्चात् उद्योग÷व्यवसायहरुलाई चालुपूँजीको समस्या हुनेतर्फ संकेत गरेको निश्कर्ष अध्ययनको छ ।
बन्दाबन्दी पश्चात् वित्तीय साधन परिचालनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, कर्मचारी÷तलब कटौती गरी खर्च घटाउने, सहकारी संस्थाबाट ऋण लिने र नयाँ लगानी साझेदार खोज्ने सोचमा उद्योगी÷व्यवसायीहरु रहेको पाइएको छ ।
सहुलियत ब्याजदर, लचिलो किस्ता भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालु पूँजीका निम्ति थप ऋण सुविधा र ऋणको भाका सार्ने सुविधाको माग उद्योगी व्यवसायीले गरेका छन् । बन्दाबन्दीे अवधिमा उद्योग/व्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन÷कारोबार घटेको जनाएका छन् ।
यस अवधिमा ८३.९ प्रतिशत उद्योग÷व्यवसायहरुको औसत बिजुली खपत घट्नुले समेत सो तथ्यलाई थप पुष्टि गर्दछ । ठूलो परिमाणमा उद्योग/व्यवसायहरुको उत्पादन÷कारोबार घट्नुले आर्थिक क्रियाकलापमा उल्लेख्य कमी आएको देखाउने केन्द्रीय बैंकको निश्कर्ष छ ।