काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन) खुल्ने बित्तिकै अर्थतन्त्र ‘बुम’ होला जसरी बजारमा चहल पहल सुरु भयो । उद्योगी/व्यवसायीमा उत्साह पलायो ।
उद्योगी/ व्यवसायीहरुले उत्पादन भएका सामान बेच्न स्किम ल्याउन प्रतिस्पर्धा पनि गरे । नयाँनयाँ स्किम पनि ल्याए । बजार चलायमान भयो । उपभोक्ता वा ग्राहक पनि इन्क्वायरीका लागि मोटरसाइकलमा सोरुमदेखि गाडीका सोरुमसम्म पुग्न थाले । दुई पाङग्रे सवारी साधानको बिक्री ह्वात्तै बढ्यो ।
यसबीचमा गाडीको बिक्रीका सुधार आएन । गाडीमा ल्याइएको स्किमका बारेमा उपभोक्ताले बुझ्दै फर्किँदै मात्र गरे ।
त्यति मात्रै होइन्, उद्योगी व्यवसायीमा पनि उत्साहको नयाँ किरण पलाएको थियो । उद्योग पूर्ण क्षमतामा चलाउने, बजारमा समान पठाउने भनेर लामो समयदेखि बन्द भएका र आशिंक रुपमा चलेका उद्योगलाई पूर्ण क्षमतामा चलाउने कोसिस पनि गरे ।
तर, अहिले उद्योगीले आफैले पुष्टि गरे ‘त्यो सबै चलहपहल क्षणिक रहेछ ।’ असार एक महिनामा जस्तो रौनक थियो । त्यो अहिले १० प्रतिशत पनि बाँकी छैन् । ‘न बजारमा सामानको माग छ, न उत्पादन नै छ’ उद्योगी शशिकान्त अग्रवाल भन्छन्, ‘उपभोक्ताले नकिने वा खपत नगरेसम्म अर्थतन्त्र चलायमान हुँदैन । उद्योगी उत्पादन गरेर के गर्नु, होटल सञ्चालकले होटल खोलेर के गर्नु ?’
होटल खोले पनि यहाँ आएर खाने मान्छे हुनुपर्यो । उद्योगले उत्पादन गरे पनि बजारमा किन्ने मान्छे हुनुपर्यो । अहिले बजारमा कुनै पनि कुराको माग नभएको अग्रवालको भनाइ छ । जब बजारबाट माग आउँदैन्, तबसम्म अर्थतन्त्र चलायमान हुँदैन् । यदि त्यस्तो भयो भने क्षणिक हुन्छ । जुन एक महिना अघि अलिअलि देखियो, अहिले सकियो ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको साउन महिनामा मात्रै १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँ बरारबको वस्तु तथा सेवा आयात भएको थियो । यसबाट सरकारले २५ अर्ब ५२ करोड रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।
त्यसैगरी सोही आर्थिक वर्षको साउनमा नेपालबाट ८ अर्ब ८३ करोड रुपैयाँ बरारबको वस्तु तथा सेवा निर्यात भएको थियो । चालू आवको साउनमा यसको आधा भन्दा कम आयात हुन्छ भने निर्यात शुन्यप्राय हुने अर्थविद्हरु बताउँछन् । यसबाट पनि देशको अर्थतन्त्रमा ‘रेड सिग्न’ल देखिने खतरा छ ।
अहिले सिमेन्ट र स्टिलको उत्पादन शुन्य प्राय छ । कपडाको व्यापार तथा आयात शुन्य प्राय छ । मदिराको बिक्री तथा उत्पादन धेरै कम भएको उद्योगीहरु बताउँछन ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाका अनुसार बैंकहरुको पुँजी–कर्जा–निक्षेप अनुपात (सीसीडी) ७० प्रतिशतमा सीमित छ । यसबाटै पुष्टि हुन्छ, देशभित्र अर्थतन्त्र कति चलायमान छ भन्ने । ‘सीसीडी यति कम भएको इतिहासमै पहिलो पटक होला सायद’ उनले भने, ‘यसबाट बुझ्न सकिन्छ, हाम्रो अर्थतन्त्रमा कुन तहको खतराको घण्टी बज्दै छ भन्ने ।’
‘अटोमोटिभमा पनि खासगरी दुई पाङ्ग्रे सवारी साधान र मोबाइलको बिक्रीमा आएको सुधारले अर्थतन्त्र लयमा फर्किन्छ कि भन्ने हाम्रो अनुमान थियो,’ उनले भने, ‘त्यो एक महिनालाई मात्रै रहेछ । अहिले पुनः पुरानै अवस्थामा आइसकेको छ ।’
अर्थविद् डा. चन्द्रमणि अधिकारीका अनुसार सरकारले उपभोग्य बस्तुको खपत (कन्जुमर कन्जम्सन) बढाउने खालको कार्यक्रम नल्याएसम्म माग बढ्दैन र माग नबढेसम्म उत्पादन पनि बढ्दैन । त्यही भएर माग बढाउने गरी सरकारले कार्यक्रम ल्याउनुपर्ने उनले बताउ । ‘उपभोक्ताले बस्तु नकिनेसम्म उद्योगीले पनि उत्पादन गर्ने कुरा भएन । बजारबाट माग नआई उद्योगीले थप ऋण लिदैँनन् । त्यसो हुने बित्तिकै बैंकमै पैसा थुप्रिनुको विकल्प रहेन ।’
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालका अनुसार गत आर्थिक वर्षको साउनमा जुन रफ्तारमा एलसी खोलिएका थिए, चालू आवको साउन महिनामा १० प्रतिशत पनि छैन । जुन गतिमा ऋण माग्न बैंकमा आउँथे, त्यो गतिको १० प्रतिशत पनि आउने गरेका छैनन् । उल्टै बैंकहरु ऋण लिन भनेर कर्पोरेट कार्यालय धाउने गरेका छन ।
नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति अञ्जन श्रेष्ठका अनुसार असारमा देखिएको चहल पहल दीगो रहन्छ कि भन्ने हेरिरहेका थियौं, तर, त्यो रहेन ।
खासगरी, दुई पाङ्ग्रे र चार पाङग्रेले बजारमा आर्थिक गतिविधि बढाउन खोजेका थिए । त्यसमध्ये दुई पाङ्ग्रेको छिटफूट व्यापार भए पनि चारपाङ्ग्रेको व्यापारमा कुनै सुधार नआएको श्रेष्ठको भनाइ छ । त्यसबाहेक अन्य कुनै पनि क्षेत्र नफस्टाएको उनको भनाइ छ
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोभिड सम्बन्धित अध्ययन प्रतिवेदनले आर्थिक गतिविधि पुरानो लयमा फर्कन कम्तिमा ९ महिना लाग्ने बताएको छ ।