काठमाडौं । गर्मीसँगै माग बढ्ने भए पनि यो सिजनमा बियरले बजारको गति समाउन पाएन । कोभिड–१९ ले सबै उद्योग र व्यवसायमा नकारात्मक प्रभाव पारिरहेकै समयमा मदिरा उद्योगमा पनि त्यसको असर परेको हो । बियरका लागि पिक सिजन मानिने चैतदेखि असारसम्म लकडाउन र साउनमा अधिकाँशले मासू र मदिरा नलिने भएकाले सिजनमै बियरको बजार ओरालो लागेको हो ।
अर्ना बियर उत्पादन गर्न यति ब्रुअरीका जनरल म्यानेजर अरुण केसीले बियरको सिजनमा नै लकडाउन भएका कारण बियरको बजारमा नराम्रो असर गरेको बताए । कोरोनाले गर्दा पहिला सुरक्षामा नै ध्यान दिनुपर्ने बेला भएकाले सबै व्यवसायमा असर परेजस्तै बियरको बजारमा पनि असर परेको उनले बताए ।
चैतदेखि असारसम्ममा नेपालको बियर बजारमा ६५ लाख कार्टुन बियरले बजार गुमाएको कम्पनीहरुले जनाएका छन् । यो भनेको १८ अर्बजतिको बजार हो ।
‘नेपालको सबै बियर कम्पनीको बजार हिस्सालाई जोडेर हेर्ने हो भने १८ अर्ब जतिको बजार हामीले यो समयमा गुमायौं,’ केसीले भने, ‘बजारहिस्सा धेरै हुनेले धेरै गुमाए, थोरै हुनेले सोहि अनुपातमा बजार गुम्यो ।’
सुरुमा उत्पादन भएको बियर ढुवानीको कारण बजारमा जान समस्या रहेको कम्पनीहरुले बताए । लकडाउनभन्दा अघि उत्पादन भएका बियर पनि राम्रोसँग बजारमा जान नपाएको कम्पनीहरुले जनाएका छन् ।
वासटाइनर, नमस्ते बियर उत्पादन गर्ने जावलाखेल गु्रपका मार्केटिङ प्रमुख सुशील श्रेष्ठले नेपालको बियर बजार पिक सिजनमै ७० प्रतिशतले डाउनफल भएको बताए । ‘अघिल्लो वर्षहरुकोसँगको तुलनामा यो सिजनमा बियरको बजार ६० प्रतिशतले तल झर्यो,’ उनले भने ।
लकडाउन भएको दोस्रो सातासम्म स्टकमा रहेका बियरहरुको माग भएपनि लकडाउन बढ्दै जाँदा धेरैको आम्दानीको स्रोत पनि गुमेको हुनाले मदिराको व्यापार घटेको हो, यो सामान्य जस्तै हो परिस्थिती र समय त्यस्तै भएपछि सबै व्यवसायमो असर गरेको उनले बताए ।
सरकारले लकडाउन खुकुलो बनाएपछि खुल्ने व्यवसायमा होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, बार र क्लबलाई कम प्राथमिकतामा राखेपछि अरु व्यवसायमा सामान्य सुधार आउँदा पनि बियरको बजारमा सुधार नदेखिएको कम्पनीहरुले जनाएका छन् ।
नेपालमा १० बियर उद्योगले वार्षिक एक करोड ४६ लाख कार्टुन बियर उत्पादन गर्दै आइरहेको तथ्याँक छ । यसमध्ये धेरै गर्मी महिनामा नै खपत हुँदै आएको छ ।