काठमाडौं । नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले बजार पुँजीकरणमा एनएमबी बैंकलाई पछि पारेको छ । नेपाल रि–इन्स्योरेन्स गत साता ७ औं स्थानमा रहेकोमा यो साता एक स्थान माथि चढेको छ ।
गत साता छैठौं स्थानमा रहेको एनएमबी बैंक सातौं स्थानमा झरेको छ । सेयरको मूल्यमा गिरावट आएपछि एनएमबी बैंक बजार पूँजीकरणमा नेपाल रि–इन्स्योरेन्स भन्दा पछि परेको हो ।
नेपाल रि–इन्स्योरेन्सको बजार पुँजीकरण ५७ अर्ब ५० करोड रुपैयाँ छ । गत साताको भन्दा नेपाल रि–इन्स्योरेन्सको बजार पुँजीकरणमा कमी आएको छ ।
सेयर मूल्य बढेपछि नेपाल रि–इन्स्योरेन्सको बजार पुँजीकरण ५९ अर्ब ९० करोड रुपैयाँ पुगेको थियो । यो साता झण्डै २ अर्ब रुपैयाँ घटेको छ । कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ६७५ रुपैयाँ कायम भएको छ । अघिल्लो साता ५९९ रुपैयाँ थियो ।
एनएमबीको बजार पुँजीकरण घटेर ५७ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो साता एनएमबीको बजार पुँजीकरण ५९ अर्ब ९८ करोड रुपैयाँ थियो । एनएमबीको सेयर मूल्य घटेर प्रतिकित्ता ४०९ रुपैयाँमा झरेको छ ।
नेपाल रि–इन्स्योरेन्सले एनएमबी बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक र एनआईसी एसिया बैंकलाई पछि पारेको छ । नेप्सेमा सूचिकृत मध्ये सबैभन्दा बढी बजार पुँजीकरण नेपाल टेलिकमको छ ।
टेलिकमको बजार पुँजीकरण ९७ अर्ब ६५ करोड रुपैयाँमा झरेको छ । गत साता टेलिकमको बजार पुँजीकरण ९८ अर्ब १० करोड रुपैयाँ थियो । यस्तै नविल बैंकको ८२ अर्ब ९ करोड रुपैयाँ छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७२ अर्ब ९४ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकको ६२ अर्ब ८३ करोड रुपैयाँ छ ।
एभरेष्ट बैंकको ६० अर्ब ७३ करोड एनआईसी एसियाको ५३ अर्ब २५ करोड, स्ट्यान्डर्ड चाटर्डको ५१ अर्ब ५१ करोड र हिमालयनको ५० अर्ब ७० करोड रुपैयाँ छ ।
यो साता रकमको हिसावले सेयर कारोबार ४३ प्रतिशत घटेको छ । यो साता ५ अर्ब २८ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत साता ८ अर्ब २ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।