काठमाडौं । प्रभु बैंकले आगामी २ वर्षमा नाफा बढेर साढे ३ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । बैंकले आर्थिक वर्ष ०७८/०७९ मा ३ अर्ब ५१ करोड ६० लाख रुपैया खुदनाफा हुने अनुमान गरेको छ । यस्तै चालु आर्थिक वर्षमा ०७७/०७८ मा २ अर्ब ९३ करोड ९० लाख रुपैयाँ नाफा हुने प्रक्षेपण बैंकको छ ।
गत आर्थिक वर्ष०७६/०७७ मा २ अर्ब ५३ करोड ८० लाख रुपैयाँ खुदनाफा हुने अनुमान गरे पनि वित्तीय विवरण सार्वजनिक हुन बाँकी छ । गत आर्थिक वर्षको चौथो त्रैमाशिक विवरण बैंकले सार्वजनिक गरेको छैन । गत आर्थिक वर्षको तेस्रो त्रैमाशमा १ अर्ब ४६ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।
अघिल्लो वर्ष ०७५/०७६ मा बैंकले १ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले ऋणपत्र निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको प्रक्षेपित वित्तीय विवरणमा आगामी वर्षहरुमा व्यवसाय विस्तार र नाफामा वृद्धि हुने देखाएको हो।
बैंकले चालु आर्थिक वर्षमा खुदब्याज तथा कमिसन आम्दानी ७ अर्ब ६२ करोड रुपैयाँ हुने अनुमान गरेको छ । यस्तै आगामी बर्ष बढेर ८ अर्ब ९९ करोड ८० लाख रुपैयाँ आम्दानी हुने अनुमान प्रभुको छ । चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) २८ रुपैयाँ ४९ पैसा र आगामी वर्ष बढेर ३४ रुपैयाँ पुग्ने छ ।
चालु आर्थिक वर्षमा बैंकको निक्षेप परिचालन १९.३० प्रतिशत बढेर १ खर्ब ४० अर्ब र आगामी वर्ष पनि १९.३५ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब रुपैयाँ पुग्ने अनुमान बैंकको छ । यस्तै चालु आर्थिक वर्षमा पुँजी, कर्जा र निक्षेप अनुपात सीसीडी सहज अवस्थामा रहने अनुमान बैंकको छ ।
ऋणपत्र निष्कासनका लागि सार्वजनिक गरेको प्रक्षेपित वित्तीय विवरण बैंकले आफ्नो दीर्घकालनि रणनीतिअनुसार तयार पारेको हो । प्रभुुले देशको आर्थिक अवस्था, बैंक तथा वित्तीय संस्थाहरुको अवस्था तथा विभिन्न नियमनकारी निकायहरुको नीति तथा व्यवस्थाहरुको सुक्ष्म रुपमा अध्ययन गरेर आफ्नो दीर्घकालीन रणनीतिहरु तयार पारेको जनाएको छ ।
सो रणनीति बमोजिम बैंकले आफ्नो शाखा सञ्जाल विस्तार, व्यक्तिगत र साना तथा मझौला कर्जामा वृद्धि, ब्याजरहित तथा निम्न ब्याज हुने चल्ती र वचत निक्षेप बढाउने, ग्राहक केन्द्रीत नयाँ योजनाहरु ल्याउने, आफ्नो आन्तरिक नियन्त्रण कार्य प्रणालीलाई थप चुस्त बनाउने, कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी ग्राहकहरुको पहिलो रोजाईको बैंक बन्ने योजना छ ।
बैंकले आफ्नो प्रक्षेपित व्यवसायमा वृद्धि खुद मुनाफा तथा पूँजीमा उच्च प्रतिफल दिन सक्षम रहने दावी गरेको छ ।
बैंकले आफ्नो दीर्घकालिन रणनीतिअनुसार वित्तीय विवरणहरु तयार गरेको हो । रणनीति बनाउँदा बैंकले शुक्ष्मरुपमा बजार र सम्भावित लक्ष्यहरुको अध्ययन गरेर बनाएको हो ।
देशको बैंकिङ्ग क्षेत्रमा हाल अत्याधिक प्रतिस्पर्धा रहेको छ । निर्देशनानुसार बैंकको चुक्तापूँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था बमोजिम आएको परिवर्तन, निक्षेपको तरलता तथा बैंकलाई आफ्नो पूँजीमा प्रतिफल कायम राख्ने चुनौती जस्ता कारणहरुले बैंकहरुबीच प्रतिस्पर्धा अझ बढेको प्रभुको विश्लेषण छ ।
बैंकको भावी योजनाहरु, विगतका बर्षहरुको कारोवारको बृद्धि, बैंकले गरेको आम्दानी, शाखा संजाल विस्तार गर्ने रणनीति लिएको छ ।
बैंकले निक्षेप र कर्जा सापटमा औषत ब्याजदर, बैधानीक तरलता अनुपात, अनिवार्य नगद मौज्दात तथा पूँजीकोष अनुपात प्रतिशतलाई आधार मानेर राष्ट्र बैंकले तोकेको मापदण्ड अनुरुप कायम गरी वित्तीय विवरणको प्रक्षेपण गरेको हो । हाल बैंकको चुक्तापूँजी १० अर्ब ३१ करोड रुपैया छ ।
बैंकले लगानीयोग्य पुँजी जुटाउन साउन १९ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ । ८ वर्ष अवधिको ऋणपत्रको ब्याजदर वार्षिक १० वर्ष तोकिएको बैंकले जनाएको छ ।