काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि उद्योग विभागले सम्पूर्ण सेवा बन्द गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सर्कुलरपछि विभागले सम्पूर्ण सेवा १५ दिनका लागि बन्द गर्ने विभागका महानिर्देशक जीवलाल भुसालले बताए ।
कोरोना संक्रमणको दर उच्च हुन थालेपछि विभागले नयाँ उद्योग दर्ता, उद्योगले गर्नुपर्ने नियमित रिपोटिङ, विदेशी लगानीसम्बन्धी उद्योग दर्ता पनि अनलाईनबाट गर्न सकिने व्यवस्था विभागले मिलाएको छ ।
उद्योग विभागमा उद्योगका प्रतिनिधिको अत्यधिक भीड हुन थालेपछि स्वयम् उपस्थित भएर गर्नुपर्ने सम्पूर्ण काम ७ दिनलाई बन्द गरिएको उनको भनाइ छ । तर, विभागले गर्नुपर्ने नीतिगत कामहरु नियमित रुपमा चल्ने छन् ।
‘मात्रै सेवाग्राहीको भीडलाई कम गर्न ७ दिन भौतिक रुपमा उपस्थिती हुने सेवा बन्द गरिएको हो,’ उनले भने, ‘अहिले विभाग सेमिअटोमेसनमा गइसकेकाले धेरैजसो काम अनलाइनबाटै हुन्छन् । त्यही भएर सेवाग्राहीको काम भने रोकिँदैन् ।’
उद्योग विभागले सम्पूर्ण सेवालाई अनलाइनबाटै दिन अहिले सकिँदैन । तर, उद्योगीले दैनिक रुपमा बुझाउनुपर्ने रिपोर्ट, उद्योग दर्ता, विदेशी लगानीका उद्योग दर्ता भने अनलाइनबाटै गर्न सकिने उनको भनाइ छ ।
‘कार्यालय बन्द गर्दा केही सेवा प्रभावित हुन्छन् । तर, जति सकिन्छ, अनलाइनबाटै सेवा दिने प्रयत्न विभागको रहन्छ,’ उनले भने, ‘कठिन परिस्थितिको सिर्जना भएकाले यस्तो गर्नुपरेको हो ।’
सरकारले अत्यधिक भीड हुने मालपोतको सेवा ७ दिनका लागि बन्द गरिसकेको छ । कर कार्यालय, उद्योग विभाग पनि सेवाग्राहीको अत्यधिक भीड हुने क्षेत्र हुन् ।