हेलिकप्टर कम्पनीबाट अझै गैरकानूनी रुपमा शुल्क उठाउँदै क्यान, बन्द गर्न सञ्चालकहरुको माग 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ११, बिहीबार,०७:२८:PM  
हेलिकप्टर कम्पनीबाट अझै गैरकानूनी रुपमा शुल्क उठाउँदै क्यान, बन्द गर्न सञ्चालकहरुको माग 

काठमाडौं । कोरोना भाइरस महामारीले थला परेका हेलिकप्टर कम्पनीहरुबाट नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गैरकानूनी रुपमा शुल्क उठाउन अझै छोडेको छैन ।

संकटको बेला छिट्टफुट्ट पाउने उद्धार उडानमा पनि क्यानले र्याल चुहाएको छ । उसले अनुमति दिने बेला प्रति उडान ५० डलर उठाउदै आएको छ ।

यस सम्बन्धमा वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले असार २४ गतेनै क्यानलाई सम्बोधन गरी चार्टर्ड उडान गर्दा लिने शुल्क असुली बन्द गर्न पत्र पठाएका थिए । 

क्यानले व्यवसायीहरुको अनुरोध नसुनेपछि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समेत पत्र पठाइएको थियो । मन्त्रालयबाट पनि यस विषयमा सुनुवाई नभएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कंडेलले जानकारी दिए ।

चार्टर्ड उडान गर्न अनुमति लिने भएकोले पछि फेरी क्यानले प्रति उडान ५० डलर लिनु गैरकानूनी भएको जिकिर हेलिकप्टर सञ्चालकहरुको छ । उनीहरुले यसलाई हटाउन सरकारसँग माग गर्दै आएका छन् ।

अहिले संकटको बेला सरकारले नै विमानस्थलमा पार्किङ शुल्कमा ७५ प्रतिशतलगायत अन्य छुटहरु दिइरहेको बेला सरकारकै अर्को निकाय क्यानले भने हेलिकप्टर कम्पनीबाट पैसा उठाएर व्यवसायीहरुलाई मर्कामा पारेको कैलाश हेलिकप्टरका प्रवन्ध निर्देशक प्रतापजंग पाण्डेको भनाई छ । क्यानले  लिदै आएको शुल्क मिनाह गर्नुपर्ने उनको भनाई छ ।

यस विषयमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीसँग जानकारी लिँदा क्यानको अधिकार भित्रपर्ने भएकोले आफुहरुले केहि गर्न नसक्ने प्रतिक्रिया दिए । हाल १० ओटा कम्पनीको ३७ वटा हेलिकप्टर सञ्चालनमा छन । कोरोना भाइरसको कारण अहिले अधिकाशं हेलिकप्टरहरु ग्राउण्डेड भएका छन ।

क्यानका महानिर्देशक राजन पोखरेलले भने चार्टर्ड उडान हुँदा पहिलादेखि नै शुल्क उठाउदै आएकोले आफु आएपछि पनि त्यर्सलाई निरन्तरता मात्र दिएको बताए । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top