काठमाडौं । उद्योग मन्त्रालयअन्तर्गत रहेको औद्योगिक प्रवद्र्धन तथा लगानी बोर्डले लगानीसँग बाझिएका दर्जनौ कानुन संशोधन गर्नका लागि कार्यदल गठन गरेको छ । मन्त्री लेखराज भट्ट अध्यक्ष रहेको बोर्डले मन्त्रालयका सहसचिव डा. नारायण रेग्मीको संयोजकत्वमा कार्यदल गठन हो । रेग्मी औद्योगिक प्रवद्र्धन महाशाखा प्रमुख प्रमुख हुन् । सो कार्यदलले काम सुरु गरिसकेको छ ।
केही दिन अघि बसेको बोर्डको बैठकले लगानीसँग बाझिएका जति पनि कानुन छन् । ती कानुनहरुको पहिचान गरेर ४५ दिन भित्र रिपार्ट दिने छ । सोही रिपोर्टका आधारमा लगानी विस्तारमा अवरोध पुर्याउने कानुन संशोधन गरिने उद्योग मन्त्रालयका सचिव चन्द्र घिमिरेले जानकारी दिए ।
‘लगानी विस्तारमा थुप्रै कानुनले अवरोध पुर्याइरहेका छन् । कतिपय अवस्थामा बन मन्त्रालयको कानुनले लगानी विस्तार गर्न रोकेको छ । कतिपय अर्थमन्त्रालयका कानुन बाधक बनेका छन् । भूमि सुधार मन्त्रालयका कतिपय कानुनले अहिले पनि अप्ठयारो पारिहेको छ । कुनै नेपाल राष्ट्र बैंकसँग सम्बन्धित होला भने विदेशी विनिमय ऐनले लगानी गर्न अवरोध पुर्याइरहेको हुन्छ,’ घिमिरेले भने, ‘त्यस्ता ऐनको पहिचान गर्ने र कार्यदलले मन्त्रालयलाई रिपोर्ट दिने र सोही अनुसार उक्त ऐन संशोधन हुन्छन् ।’
कार्यदलले रिपोर्ट दिएपछि त्यसको आधारमा केही नेपाल ऐन संशोधन (फास्ट ट्रयाकबाट कानुन संशोधन गर्ने) हुन्छन् । सामन्यतय ऐन संशोधन गर्ने बाटो लामो हुन्छ । कम्तिमा पनि एक वर्षसम्म लाग्छ । त्यो भन्दा छिटो माध्यमबाट संशोधन गर्न खोजिएको घिमिरेले जानकारी दिए ।
कुन कुन कानुन संशोधन गर्नु पर्छ । कुन कुन कानुनले लगानी विस्तारमा रोकेको छ र कुन कुन कानुन लगानीसँग बाझिएका छन् भन्ने कार्यदलले ४५ दिन लगाएर अध्ययन गर्छ र रिपोर्ट दिन्छ । सोही अनुसार त्यस्ता कानुनलाई सशोधन गर्ने काम हुन्छ ।
उद्योगी/व्यवसायीले पटक पटक एक आपसमा कानुन बाझिएकाले लगानी विस्तारमा ठूलो अवरोध पुर्याइरहेको बताइरहेका छन् । खासगरी, बन, वातावरण, भूमि सुधारलगायत ऐनका कारण उद्योगको क्षमता विस्तार देखि नयाँ लगानी समेत गर्न अप्ठयारो भइरहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले बताए ।
सरकारले लगानीसँग बाझिएका कानुन संशोधनका लागि कार्यदल बनाएर अघि बढ्नु एकदमै स्वागतयोग्य काम भएको मुरारकाको भनाइ छ । ‘निजी क्षेत्रले बारम्बार यो कुरा उठाउँदै आएको हो,’ उनले भने, ‘ढिलै भए पनि निजी क्षेत्रको कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर अघि बढेको छ ।’