काठमाडौं । कुर्था–जनकपुर–जयनगर रुटमा चल्ने रेल नेपाल-भारत सीमानामा आइपुगेको छ । बिहीबार साँझ ६ बजेर ५१ मिनेटमा जयनगरमा रेल आइपुगेको हो । सो रेल भोलि शुक्रबार जनकपुरसम्म आइपुग्ने छ ।
रेल शुक्रबार जनकपुरसम्म आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । उनका अनुसार जनकपुर स्टेसनमा भारतीय रेल निर्माता कम्पनीले नेपाललाई हस्तान्तरण गर्ने छ ।
विभागले २०१९ को मेमा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग खरिद सम्झौता गरेको थियो । पाँचवटा डिब्बासहितका एउटा रेलमा एकैपटक १३०० जनाले यात्रा गर्न सक्छन् ।
रेल डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिबाट चलाउन लागिएको हो ।
यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ । सन् २०१४ बाट लिक मर्मतको काम सुरुवात भएको थियो । यसअघि नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो ।
अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ ।
विभागका महानिर्देशक मिश्र रेल ल्याएर नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरिने बताउँछन् । मिश्रका अनुसार सबै तयारी समयमै पूरा भए एक महिनापछि सञ्चालनमा ल्याउन सकिने बताउँछन् ।
सरकारले २०७५ को पुसबाट नै बन्द रहेको जनकपुर जयनगर रेल चलाउने घोषणा गरेको थियो । अहिले जनकपुर जयनगर रेलमार्गको लिक पनि पूर्ण रुपमा चुस्त अवस्थामा छैन । २०७५ मा गएको बाढीका कारण रेलमार्गमा ठूलो क्षति पुगेको थियो । रेलमार्ग मर्मतका लागि भारतीय पक्षले काम गरिरहेको विभागले जनाएको छ ।
कुर्था-जनकपुर-जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो ।
सन् २०१४ बाट लिक मर्मतको काम सुरुवात भएको थियो । यसैकारण नेपालको एक मात्रै रेललाइनका रुपमा रहेको जनकपुर९जयनगर रेल सेवा विगत ६ वर्षदेखि बन्द अवस्थामा छ । ३५ किलोमिटरको रेलमार्गमा ब्रोड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो ।
सरकारले रेल सेवा सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ । जनकपुर-जयनगर रेल नेपाल रेल्वे कम्पनीले नै चलाउँथ्यो । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो ।
रेल चलाउन प्राविधिक जनशक्ति भारतबाट ल्याउन नेपाल सरकारले स्वीकृति दिइसकेको छ । ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार ल्याउने योजना छ ।
पहिलो चरणमा जनकपुरसम्म चल्ने रेल महोत्तरीको बिजलपुरासम्म चलाउने योजना सरकारको योजना छ । जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्वपश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा सरकारले गरेको छ ।