काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारसँग डा. युवराज खतिवडासंग भेटेको छ ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको उद्योगी व्यवसायी प्रतिनिधिमण्डलले खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएकामा बधाईका साथै कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गरेको छ ।
छलफलमा उद्योगहरुमा कार्यरत कर्मचारी वा कामदारमा कोरोना संक्रमण भेटिएमा कन्ट्याक ट्रेसिङका आधारमा पीसीआर टेष्ट गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने सम्बन्धमा छलफल भएको परिसंघले जानकारी दिएको छ ।
पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्नुपर्ने, १४ दिनसम्मको क्वारेन्टाइन व्यवस्थालाई परिमार्जन गरी ३ दिनमा झार्न डा. खतिवडाको ध्यानकर्षण गराएको छ ।
निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा होटललाई आवद्ध गराई उपचार, क्वारेन्टाइन र आइसोलेसनका सेवाहरु प्रदान गर्न दिनुपर्ने धारणा पनि परिसंघले राखेको छ । हाल उड्डयन क्षेत्रमा देखिएको अन्योलता र जायज मागहरुलाई छलफलका माध्यमबाट सम्बोधन गरिनुपर्ने माग परिसंघको छ ।
परिसंघले दिएको सुझावका आधारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको औद्योगिक लगानी प्रवद्र्धन बोर्डमार्फत फाष्ट ट्रयाकबाट लगानी अवरोध गर्ने कानुनहरु संशोधन गर्न समिति बन्नु स्वागतयोग्य भएको भन्दै सरकारको तारिफ समेत गरेको छ ।
कम्तिमा २ वर्षका लागि त्यस्ता कानुनहरुलाई थाति राखि वा संशोधन गरी लगानी वातावरण बनाउनुपर्ने सम्बन्धमा पनि छलफल भएको परिसघले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।
छलफलमा ग्लोबल टेण्डरको न्यूनतम सीमा १ अर्बबाट बढाएर ३ अर्ब करोड रुपैयाँ पुर्याउनु पर्ने माग परिसघले गरेको छ । नेपालमा प्रविधि र जनशक्ति रहेकाले यो व्यवस्था गरिएमा नेपाली पूँजी नेपालमै रहने र परिसंघले उठाउँदै आएको मेकइन नेपालको अवधारणाले साकार रुप लिने विषय पनि अवगत गराइएको छ ।
मौद्रिक नीतिमा व्यवस्था भएका कतिपय व्यवस्थाहरु कार्यान्वयनमा नआएको, उत्पादनमूलक उद्योगमा लक डाउन अवधिभर विद्युतको डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने बजेट मार्फत घोषणा गरेकोमा हालसम्म यो व्यवस्था कार्यान्वयनमा नआएको ध्यानकर्षण गराएको छ ।
कर बुझाउँदै आएको र रोजगारी सृजनाको क्षेत्रमा पनि राम्रो हिस्सा ओगटेको मदिरा उद्योगले व्यहोर्नुपरेको समस्याका बारेमा छलफल भई मदिरा कारोबारलाई पनि सहज बनाउनुपर्ने सम्बन्धमा छलफल भएको छ ।
डा. खतिवडाले परिसंघले छलफलमा उठाएका विषयहरुलाई गम्भीरतापूर्वक लिएको र कतिपय विषयहरु कार्यान्वयनको तहमा समेत छलफल भइरहेको जानकारी गराएका थिए ।
छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षहरु क्रमशः अनुज अग्रवाल र वीरेन्द्रकुमार पाण्डेको उपस्थिति थियो ।