काठमाडौं । शंकर ग्रुपका अध्यक्ष तथा वरिष्ठ उद्योगी शंकरलाल गोल्यान (अग्रवाल)सहित दर्जनौ उद्योगी/व्यवसायीलाई सरकारले प्रबल जनसेवा श्रीबाट सम्मानित गरेको छ ।
६० वर्षदेखि अनवरत व्यवसायमा लागेर देशलाई ठूलो योगदान पुर्याउँदै आएका गोल्यानदेखि विशाल ग्रुपका उपाध्यक्ष तुलसीराम अग्रवालसम्मलाई उक्त मानपदवी प्रदान गरेको छ । त्यसैगरी, देशलाई महत्वपूर्ण योगदान पुर्याएबापत
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ कार्यकारीणी सदस्य भरत आचार्य, जोत्सना श्रेष्ठ, बिमलमान श्रेष्ठ, बिजयबहादुर श्रेष्ठ, त्रिभुवन रत्न तुलाधर, लक्ष्मण थापा, विजय अधिकारी, अनिश थापा, नविनकुमार पौडेल, सुरेश पन्त, लाक्पा फुटि शेर्पासहित दर्जनभन्दा बढी व्यवसायी सुप्रसिद्ध प्रबल जनसेवा श्रीबाट सम्मानित भएका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउने उद्योगी÷व्यवसायीले पाउने मानपदवीको नाम टुङ्गो लगाएको थियो ।
मानपदवी पाउने गोल्यान को हुन् ?
मानपदवी प्राप्त गरेको वरिष्ठ उद्योगी गोल्यान पायोनियर औद्योगिक घराना शंकर ग्रुपको नेतृत्व गरेर देशमा उद्योग धन्दा विस्तारमा लागेका व्यक्ति हुन् । उनका बुबा स्वर्गीय रावतलाल गोल्यानले स्थापना गरेको व्यावसायिक घरानालाई शंकरले अघि बढाएका मात्रै छैनन्, त्यसलाई थप विस्तार पनि गरेका छन् ।
६० वर्षको इतिहास बनाएको शंकर ग्रुपअन्तर्गत अहिले खानी, स्टिल, सिमेन्ट, अटोमोवाइल, अल्कोबेभरेज, कृषि, हस्पिटालिटी, उर्जा, लाइफ इन्स्योरेन्स, क्रेडिट रेटिङ एन्ड ट्रेडिङमा आवद्ध छ । यही ग्रुपको नेतृत्व शंकर गोल्यानले गर्छन् । त्यसैगरी यो ग्रुपले १० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान पनि गरेको छ भने सरकारलाई एक हजार ८ सय करोड रुपैयाँ कर समेत बझाएको छ ।
गृह मन्त्रालयले नियमावलीमा व्यवस्था भए अनुसार एक सय जनालाई मानपदवी, ५० जनालाई अलङ्कार र ५० जनालाई पदक सिफारिस गरेको जनाइएको छ । दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।
यसपटक कोभिड–१९ महामारीका क्षेत्रमा महìवपूर्ण योगदान पुर्याउने महानुभावलाई समेत सम्मानित हुनेछन् ।
यो वर्ष सुप्रसिद्ध प्रबल जनसेवा श्री(प्रथम) बाट चिकित्सक डा। सन्दुक रुइत र सुप्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) न्यायाधीश दीपकुमार कार्की, पूर्वप्रमुख आयुक्त नवीन कुमार घिमिरे, प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मानित गरिएको छ।
यस्तै, सुकीर्तिमय राष्ट्रदीप (तृतीय)बाट आयुक्त डा। गणेशराज जोशी, वनस्पतीविज्ञ डा। तीर्थबहादुर श्रेष्ठ, सचिव केदार बहादुर अधिकारी, मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल र नापी विज्ञ बुद्धि नारायण श्रेष्ठसमेत सात जनालाई सम्मानित गरिएको छ।