काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ। आवेदन नपरेको ५ लाख ९० हजार १४ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो। जसमध्ये ३ लाख ३७ हजार ५६५ कित्ता संस्थापक र २ लाख ५२ हजार ४४९ कित्ता सेयरर सर्वसाधारण समूहको छ।
कम्पनीले चुक्तापुँजी बढाउन असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो । सो अवधिमा बिक्री नभएको हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो ।
सेयर खरिदका लागि असोज १३ गतेदेखि १९ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न कम्पनीले भनेको छ । न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड छ। लगानीकर्ताहरुले एनएमबी क्यापिटल, नागपोखरी काठमाडौँ, एनएमबी बैंकका विराटनगर, झापा, वीरगञ्ज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।