काठमाडौं । निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आगामी असारदेखि ऋणको किस्ता तिर्न सुरु गर्ने भएको छ । ढिलोमा आउँदो चैतसम्म आयोजनाबाट बिजुली उत्पादन भई २०७८ को असारदेखि नियमित रूपमा किस्ता तिर्ने गरी कर्जाको पुनर्तालिकीकरण भएको हो ।
आगामी असारदेखि माथिल्लो तामाकोसी आयोजनाले ऋणको किस्ता भुक्तानी बुझाउन थाल्ने सञ्चय कोषका प्रशासक तुलसी गौतमले बताए । उनले सोहीअनुसार कर्जाको पुनर्तालिकीकरण गरिएको बताए । कोषले किस्ताको समय ४८ बाट बढाएर ६० किस्ता अर्थात ५ वर्ष पुर्याएको छ ।
यस्तै लगानी भएका सान्जेन, रसुवागढी र मध्य भोटेकोसी आयोजनाहरूबाट आगामी २ वर्षभित्र किस्ता आउन थाल्ने उनले सुनाए । माथिल्लो तामाकोसीबाट किस्ता आउन थालेपछि सो रकम ९९ मेगावाटको तामाकाकोसी पाँचौं आयोजनामा लगानी गर्ने प्रशासक गौतमको भनाइ छ ।
माथिल्लो तामाकोसीबाट नियमित रूपमा किस्ता आउन थालेपछि सो रकम तामाकोसी पाँचौंमा लगानी हुने उनले स्पष्ट पारे । कोषले सो आयोजनामा लगानी सम्झौता गर्दै छ ।
आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सञ्चालनमा आएको पहिलो वर्षमा नेपाल विद्युत प्राधिकरणलाई बिजुली बिक्री गरी ९ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ ।
विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार मूल्य वृद्धि हुँदै गएपछि उसले वार्षिक ११ अर्ब रुपैयाँसम्म आम्दानी गर्नेछ । यता कोषले आयोजनाहरूको ब्याजदर घटाएर ९.५ प्रतिशतमा झारेको छ । आयोजनाले सञ्चालनको दोस्रो वर्षदेखि सेयरधनीलाई लाभांश बाँड्न सक्ने कोषको भनाइ छ ।
आयोजनाको काम लगभग सकिएको छ । आयोजनाको लागत बढेर ५१ अर्ब रुपैयाँ पुगेको छ । निर्माण अवधिको ब्याजसमेत गरी आयोजनाको कुल लागत ७५ अर्ब रुपैयाँसम्म पुग्ने अनुमान कोषको छ ।
कोरोना भाइरस महामारीले आयोजनाको काम प्रभावित भएको छ । असारसम्म तामाकोसीको पहिलो युनिट सञ्चालन गर्ने तयारी भएकोमा कोरोना महामारीले अवरुद्ध हुन पुगेको छ ।
राष्ट्रिय गौरवको तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाबाट थप १७ करोड ५० लाख युनिट बिजुली उत्पादन गर्न अपर तामाकोसीले रोलवालिङ डाइभर्सनको काम अघि पनि बढाएको छ ।