काठमाडौं । भेरी बबई डाइभर्सन बहुउद्देशीय परियोजना निर्माणको काम थप ६ महिना पर धकेलिने भएको छ । परियोजनाको बाँध र विद्युतगृह निर्माणका लागि सिभिल ठेकेदार परिचालन भए पनि कोरोनाका कारण निर्माण अघि बढ्न नसकेको हो ।
आयोजनाको मुख्य काम सुरु भएपछि कोरोना महामारीका कारण जनशक्ति साइटमा नआउँदा र निर्माण सामग्री आपूर्ति समस्याले काम हुन सकेन् ।
चीन र नेपालको गोनवनानररमन जेभीले निर्माण सुरु गरेका थिए । ४८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यअनुसार ठेकेदार कम्पनीले काम सुरु गरेको हो ।
कोरोनाका कारण परियोजनाको काम ‘फुल फेज’मा काम हुन नसकेको आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले बताए ‘लकडाउन हुनुअघि जस्तो गरी ‘फुल फेज’ मा काम हुन सकेको छैन । किनभने, कामदारहरू आउनुपर्यो । मुभमेन्ट बन्द छ । क्वारेन्टाइनमै राखेर खटाउनुपर्ने हुन्छ’ उनले भने, ‘केही कामदारलाई क्वारेन्टाइमै राखेर काम गरिरहेको अवस्था छ । तर, पूर्ण कार्य सञ्चालनमा भने समस्या छ ।’
हाइड्रो मेकानिकलतर्फको ठेक्का दुई महिनाभित्र गर्ने उनले बताए । बाँध निर्माणको काम पनि अहिले सुस्त छ । लकडाउन अघि ३ सय बढी कामदारले काम गरे पनि अहिले ५०/६० जनाले मात्रै काम गरेको उपाध्यायले बताए ।
काम हुने मुख्य समय चैतदेखि नै लकडाउन भएपछि आयोजनाको समग्र भौतिक प्रगति खुम्चिएको छ । हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ४४ प्रतिशत छ ।
चार वर्षमा आयोजना सम्पन्न भई सिँचाइका अतिरिक्त बिजुली उत्पादन हुने आयोजनाको लक्ष्य छ । विद्युत आयोजनाअन्तर्गत हाइड्रो मेकानिकलतर्फका लागि ठेकेदार चयन अन्तिम चरणमा पुगेको छ । यस्तै इलेक्ट्रो मेकानिकलको केही समयपछि हुने उनले बताए । अहिले भेरी नदीमा बाँध र विद्युत गृह निर्माण गर्ने काम अघि बढेको उनले बताए ।
अहिले आयोजना निर्माणका लागि परामर्शदाता छनोट भइसकेको छ । पहिलो पटक टनेल बोरिङ (टीबीएम) उपकरणको प्रयोग गरी गत वैशाखमा सुरुङमार्गको ब्रेक थ्रु गरिएको थियो ।
बाह्र किलोमिटर लामो सुरुङमार्ग निर्धारित समयभन्दा एक वर्षअघि सम्पन्न भएको थियो । सुरुङको काम सकिए पनि पानी प्रवाह गर्नका लागि भेरी नदीमा बाँध र बबईमा विद्युत गृहको काम अघि बढ्न सकेको छैन । दोस्रो चरणअन्तर्गत बाँध, विद्युत गृह र सिँचाइका थप संरचना बनाउन थप १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सुर्खेतकोे भेरीगङ्गा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिने आयोजनाको लक्ष्य छ । भेरीको पानी सुर्खेत र बर्दियाको सीमानास्थित बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत उत्पादनसँगै बाँके र बर्दियाको खेतीयोग्य जमिनमा सिँचाइ पु¥याइनेछ । सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध, विद्युत उत्पादन गर्न विद्युत गृह बनाइनेछ ।
२०६८ सालबाट आयोजना औपचारिक रूपमा अघि बढेपछि राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राखेर निर्माण अघि बढाइएको थियो । आयोजनाबाट उत्पादन हुने बिजुली बेच्ने र आयोजना सञ्चालको खाका तयार भएको छैन । एउटा नदीको पानी अर्को नदी बेसिनमा खसालेर सिँचाइ र विद्युत उत्पादन गर्ने भेरी बबई पहिलो परियोजना हो ।
परियोजनाबाट उत्पादन हुने विद्युतका लागि कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । ‘जनताको जलविद्युत योजना’ अन्तर्गत स्थानीय, प्रदेश, संघ र जनताको सहभागिता रहने गरी कम्पनी स्थापना हुनेछ ।
कम्पनीको ढाँचामा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत जनताको सेयर लगानीमा आयोजनाबाट ४८ मेगावाट विद्युत उत्पादन गरिनेछ । ५१ प्रतिशत सरकारी सेयरमध्ये २० प्रतिशत कर्णाली प्रदेश, ५ प्रतिशत स्थानीय सरकार र २६ प्रतिशत सेयर संघीय सरकारले प्राप्त गर्नेछ ।