काठमाडौं । लकडाउन हुनुअघि नै बन्द रहेकाे नेपालको उत्तरी केरुङ नाका ९ महिनापछि खुलेको छ । परराष्ट्र मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निरन्तरको प्रयासपछि लामो समयदेखि बन्द भएका केरुङ नाका सुचारु भएको उद्योग राज्यमन्त्री मोतिलाल दुगडले बताए ।
‘केरुङ नाका खुलाउन चिनियाँ पक्ष सहमत भएको छ,’ राज्यमन्त्री दुगडले भने, ‘कोरोना नियन्त्रणका लागि बनाइएका मापदण्ड भने अनिवार्य पालना गर्नुपर्छ ।’ उनका अनुसार त्यहाँ रोकिएर बसेका कन्टेनर भित्रिन सुरु भइसकेको छ ।
चिनियाँ पक्षले सहजीकरण गरेपछि छिटफुट रुपमा कन्टेनर भित्रिन थालेका छन् । गत २०७६ चैत ११ गते मुलुक कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि चीनबाट आउने १२०० भन्दा बढी कन्टेनर केरुङ नाकामा अड्किएका थिए । नाका खुल्ने भएपछि त्यहाँ रोकिएका कन्टेनर आउने दुगडले क्यापिटल नेपाललाई जानकारी दिए ।
चिनियाँ पक्षले सर्तसहित नाका खुलाउन लागेको हो । चालकको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्नुपर्नेलगायत विश्व स्वास्थ्य संगठनले बनाएका मापदण्डलाई पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।
यदि उक्त मापदण्डलाई पूर्ण रुपमा पालना नगरेको अवस्थामा चिनियाँ पक्षले पुनः नाका बन्द गर्न सक्नेछ । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सीमा बन्दगाह सञ्चालनमा प्रतिबन्ध लगाइएको थियो ।
यता, नेपालस्थित चिनियाँ राजदूतावासले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालका लागि पठाइने अत्यावश्यक सामान ढुवानीका लागि सीमा नाका खोलिदिएको जनाएको छ । दूतावासका अनुसार सीमा नाका पूर्णरुपमा खोल्नका लागि अन्य काम भइरहेको समेत जनाइएको छ ।
चीनबाट अत्यावश्यक वस्तु औषधीका कच्चा पदार्थ, तयारी पोशाक, जुत्ता चप्पल, स्याउ लगायतका फलफूलजस्ता वस्तुका कन्टेनर रोकिएका थिए । स्याउ लगायत फलफूल बिग्रिसकेको र केही तयारी पोशाक मक्किइसकेको व्यापारीले बताएका छन् ।
याे पनि पढ्नुहाेस, दसैंमा ‘स्टक’ सकाउन पुराना सामान सफा गर्दै ‘सोकेश’मा राख्दै
व्यवसायीहरूले सामान आयात खुलाउन सरकारसँग माग गर्दै आएका थिए । तर, सरकारले भने बेवास्ता गर्दै आएको थियो । गत वर्ष मंसिरमा ‘अर्डर’ गरिएका सामानसमेत काठमाडौं आइनपुगेकाले व्यवसायीहरू थप समस्यामा परेका थिए ।
‘साना व्यापारीको पुँजी नाकामा फसेर बसेको थियो । केही ठूला व्यापारीले सामुद्रिक बाटो हुँदै आएका सामान मात्रैमा नेपाल भित्र्याए । अहिले आएर नाका खुले पनि ती सामान काम लाग्ने अवस्थामा छैनन्’ राष्ट्रिय व्यापार संघ नेपालका अध्यक्ष कमल अग्रवालले भने ।