काठमाडौं । अघिपछि मनसुन सकिनुपर्ने सेप्टेम्बर २३ तारिखदेखि नेपालमा यसपालि झरी परिरहेको छ। भारतको मध्य प्रदेश क्षेत्रमा विकसित न्यून चापीय प्रणालीका कारण देशैभरि बुधबारदेखि भइरहेको अविरल वर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सामान्यजस्तै मौसम प्रणाली विकसित भएको भए यसपालिको मनसुन वा बर्षयाम बुधवार नै टुङ्गिनुपर्थ्यो। नेपालमा मनसुनको आगमन र बहिर्गमनको औसत मिति क्रमशः जुन १० र सेप्टेम्बर २३ भएको मौसमविद्हरू बताउँछन्। तर यसपालि अझै एक साता मनसुन सक्रिय नै रहने देखिन्छ, महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले बताइन्।
गत २४ घण्टामा गण्डकी तथा प्रदेश नं ५ मा अति ठूलो वर्षा भएको छ। काठमाडौं उपत्यकामा पनि सो अवधिमा ६० मिलिमिटर वर्षा भइसकेको छ । अविरल वर्षासँगै बाढीपहिरोको जोखिम पनि बढेको छ ।
जल तथा मौसम विज्ञान विभागले बिहीबार बिहान दिएको जानकारी अनुसार देवघाट बाढी मापन केन्द्रमा नारायणी नदीको जलसतहले खतरा तह पार गरेको र बढ्दो रहेको हुनाले चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेहरूले साँझसम्मै उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहनुपर्नेछ।
आगामी २४ घण्टाको निम्ति चेतावनी दिँदै विभागले जारी गरेको सन्देशमा सबै प्रदेशका धेरै स्थानमा ठूलो वर्षा हुनुका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानहरूमा अति ठूलो वर्षाको सम्भावना रहेको उल्लेख छ।
औसत मितिभन्दा दुई दिन ढिलो नेपाल प्रवेश गरेको मनसुन प्रणालीअन्तर्गत यो वर्ष सबैजसो वर्षा मापन स्टेशनमा औसतभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको मौसमविद् नगरकोटीले बताइन्।
उनका अनुसार यसपालि कतै पनि सुक्खाको अवस्था आएन। सामान्य मनसुन भन्नाले साढे तीन महिनाको अवधिमा औसत १४९९ मिलिमिटर वर्षा हुनुलाई मानिन्छ।