काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका ‘विश्वासपात्र’का रुपमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नाम पछिल्लो समय अर्थमन्त्रीका रुपमा चर्चामा आउन थालेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसँगै ज्ञवाली अर्थमन्त्री बन्ने सम्भावना बढेर गएको हो ।
वर्तमान सरकारको सुरुदेखि परराष्ट्रमन्त्री रहेका ज्ञवालीमा कम विवादमा आएका मन्त्री हुन् । केही दिनयता सरकारको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका ज्ञवालीलाई प्रधानमन्त्री ओलीले फोन गरेर अर्थमन्त्रीका तयार गर्न निर्देशन दिएको बताइएको छ ।
‘अर्थको नेतृत्व सम्हाल्ने गरी मनस्थिति बनाउनुस्, भन्नुभएको छ,’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘ज्ञवालीलाई अर्थको बागडोर दिने मनसाय प्रधानमन्त्रीले राखेको देखिन्छ ।’ ज्ञवाली आफंै भने सरकार बन्दा नै अर्थमन्त्रीका लागि तयारी गरेका थिए । तर, पछि परराष्ट्रमन्त्री बनेका थिए । परराष्ट्रमन्त्री भए पनि उनले अर्थतन्त्रका बारेमा समेत राम्रो जानकारी राखेका छन् ।
याे पनि पढ्नुहाेस, लगानी वातावरण बनायौं, प्रतिफल आउन थालेको छ : परराष्ट्रमन्त्री ज्ञवालीसँगको अन्तर्वार्ता
प्रधानमन्त्रीका वरिस्ठ आर्थिक सल्लाहकार डा. युवराज खतिवडा अर्थ मन्त्रालयबाट बाहिरिएपछि प्रधानमन्त्री ओली आफंैले अर्थको जिम्मेवारी लिइरहेका छन् ।
खतिवडा अर्थ मन्त्रालयबाट बाहिरिएसँगै वरिस्ठ आर्थिक सल्लाहकार बनाएको र अर्थ मन्त्रालय आफंैले राखेर प्रधानमन्त्री ओलीले केही दिनअघि उद्यमी/व्यवसायीहरूसँग भेटेसँगै सत्तासीन नेकपामा अर्थमन्त्रीका लागि काबिल व्यक्ति नभएको हो भनेर सरकारको आलोचना भइरहेको छ ।
अर्थजस्तो महत्वपूर्ण मन्त्रालय प्रधानमन्त्री मातहत राखेकोमा पार्टीभित्र र बाहिर आलोचना बढेपछि प्रधानमन्त्री ओलीले आफ््ना विश्वासपात्र ज्ञवालीलाई दिन अर्थको जिम्मेवारी सुम्पिन लागेको बालुवाटार स्रोतको भनाइ छ । ‘आफूले भनेको मान्ने व्यक्तिभन्दा बाहिर अर्थको बागडोर नदिने मनस्थितिमा प्रधानमन्त्री ओली हुनुहुन्छ,’ स्रोतले भन्यो ।
याे पनि पढ्नुहाेस, प्रधानमन्त्री ओलीको खतिवडा मोहः बिडारीको राजीनामा कि सल्लाहकारमार्फत अर्थ हाँक्ने !
नेकपा महासचिव तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको नामसमेत अर्थमन्त्रीका रुपमा चर्चा छ । पौडेल अर्थको नेतृत्व सम्हाल्न इच्छुक देखिए पनि बाहिर भने पार्टीको महाधिवेशन आउन लागेको र पार्टी काममा क्रियाशील हुन चाहेकाले सरकारमा जान नचाहेको बताउँदै आएका छन् । महासचिव पौडेल बालुवाटार सरकारी जग्गा किनबेचमा सक्रिय भएको भन्दै आलोचना भइरहेकाले पनि तत्काल मन्त्री बन्ने सम्भावना कम रहेको स्रोतको भनाइ छ ।
प्रधानमन्त्री ओलीको रोजाइमा भने पौडेल र ज्ञवाली छन् । दुईमध्ये एक छान्नुपर्दा ज्ञवालीको सम्भावना बढी छ । विगतमा पौडेल अर्थमन्त्री हुँदा खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए । त्यतिबेला छायाँ अर्थमन्त्रीका रुपमा खतिवडाको चर्चा भएको थियो । अहिले पनि जो व्यक्ति अर्थमन्त्री भए पनि खतिवडा हावी हुने अनुमान गरिँदै आएको छ ।
याे पनि पढ्नुहाेस, डा. खतिवडा प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार ! अर्थका फाइलमाथि युवराजको डिजाइन, ओलीको हस्ताक्षर
अहिले अर्थसँगै सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालय खाली छ । अर्थमन्त्रीमा ज्ञवालीको चर्चा भएजस्तै मन्त्रिपरिषद् पुनर्गठनका क्रममा जनार्दन शर्मालाई गृहमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमनाथ पाण्डेलाई ल्याउने चर्चा सुरु भएको छ ।
यसअघि शर्माले ऊर्जा मन्त्रालय र पाण्डेले उद्योग मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका हुन् ।