काठमाडौं । चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिना साउनमा महंगी कम भएको छ । साउनमा मूल्यवृद्धि ३.४९ मा झरेको छ । राष्ट्र बैंकले शुक्रबार जारी गरेको देशको वर्तमान तथा आर्थिक वित्तीय विवरण स्थिति अनुसार साउनमा मूल्यवृद्धि घटेको हो ।
अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धि ६.९५ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.०४ प्रतिशत बढेको छ । २०७६ साउनको तुलनामा २०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तिजन्य वस्तुको मूल्य वृद्धि भएको हो ।
२०७७ असारको तुलनामा २०७७ साउनमा तरकारीको मूल्य २८.२१ प्रतिशतले बढेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.३१ प्रतिशत, तराईमा ४.०२ प्रतिशत, पहाडमा २.७२ प्रतिशत र हिमालमा ४.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ साउनमा यी क्षेत्रहरुमा क्रमशः ८.६३ प्रतिशत, ६.४६ प्रतिशत, ६.०० प्रतिशत र ५.५७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
२०७७ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४४ प्रतिशत, ८.१० प्रतिशत र २.६३ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २.३३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।