काठमाडौं । दसैं लाग्न झन्डै १५ दिन बाँकी रहँदा पनि काठमाडौंबाट चाडपर्व मान्न बाहिरिने सर्वसाधारण यात्रु नपाएपछि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।
सरकारले लामोदूरीका यातायातमा ५० प्रतिशत मात्रै यात्रु चढाउन पाउने मापदण्ड बनाएको थियो । तर, उपत्यका बाहिरिने गाडीले १० प्रतिशत पनि यात्रु नपाएपछि यातायात व्यवसायी अग्रिम टिकट खुलाउन पछि हटेका हुन् ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौंलाले बसमा यात्रा गर्ने यात्रु शून्य जस्तै भएका कारण टिकट बुकिङ नहुने अवस्था रहेको बताए ।
‘नियमित चल्ने लामोदूरीको बसमा मानिसको चहलपल नै छैन, प्रायः मानिसहरू काठमाडौं बाहिर नै छन्,’ उनले भने, ‘चहलपहल र चाप नभएकै कारण टिकट बुकिङ सम्भव छैन ।’ नियमित चल्ने गाडीहरू चलिरहेकाले यसपालि दसैंमा टिकटको हाहाकार नहुने उनको भनाइ छ ।
यातायात व्यवसायी लकडाउन हुने हल्लाले थप चिन्तित बनेका छन् । गत साता स्वास्थय तथा जनसंख्या मन्त्रालयले २५ हजार संक्रिय कोरोना संक्रमित पुगे लकडाउन गर्न सिफारिस गरेको थियो ।
महासचिव सिटौंला भन्छन्, ‘सरकारले लकडाउनको हल्ला फिजाइरहेको छ, कति बेला बन्दाबन्दी गर्ने घोषण गर्ने टुङ्गो छैन । यसकारण पनि यातायात व्यवसायीले दसैंको टिकट बुकिङको कुनै तयारी गरेका छैनन् ।
हाल काठमाडौंमा भएका सर्वसाधारण उपत्यका बाहिर जाने मनस्थितिमा छैनन् । सार्वजनिक सवारीमा यात्रामा कोरोना भाइरसको त्रासको कारण लामोदूरी मात्रै होइन, उपत्यकामा सञ्चालित सार्वजनिक यातायातमा पनि यात्रुको चहलपहल शून्य नै छ ।
कोरोना भाइरसका कारण उपत्यकामा पनि चाडपर्वमा हुने उत्साहा छैन । दसैंका लागि अग्रिम टिकट बुकिङ नखुलेपछि सर्वसाधारणले नियमिति रूपमा सञ्चालन भइरेका गाडी नै प्रयोग गर्नुपर्ने भएको छ ।
सरकारले गाडी खुलाउने निर्णय गरे लगत्तै व्यवसायी महासंघले लामो दूरीमा गाडी चलाउने सबै यातायात व्यवसायीलाई दसैंका लागि अनिवार्य अनलाइन टिकट बुकिङको व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।
कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै अनलाइन टिकट बुकिङलाई प्राथमिकता दिने निर्णयबाट पनि व्यवसायी पछि हट्ने भएका छन् ।