बैंकले विभिन्न शीर्षकअन्तर्गत घरकर्जा उपलब्ध गराउँदै आएका छन् । ग्राहकलाई कुन शीर्षकअन्तर्गत घर–जग्गा कर्जा चाहिएको हो, सोहीअनुसार लिन पाइने व्यवस्था बैंकहरुले गरेका छन् ।
घर वा फ्ल्याट खरिद गर्न, पुरानो घरलाई विस्तार र मर्मतसम्भार गर्नलगायत योजनामाथि बैंकहरुले लगानी गर्छन् । नेपाल राष्ट्र बैंकले घर बनाउनका लागि जग्गा किन्न लिइने ऋणलाई पनि घरकर्जाकै श्रेणीमा राखेको छ । घर किन्न, घर बनाउन, आवास विस्तार एवं मर्मत गर्न र भविष्यमा घर बनाउन जग्गा किन्ने प्रयोजनमा बैंकबाट ऋण पाइन्छ । राष्ट्र बैंकले विभिन्न ७ वटा शीर्षकमा घरकर्जा उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ र बैंकले पनि सोहीअनुसार उपलब्ध गराउँछन् ।
(१) घर खरिद ऋण
यो सबैभन्दा चल्तीको घरकर्जा हो । घर वा फ्ल्याट खरिद गर्नका लागि बैंक र वित्तीय संस्थाले ऋण उपलब्ध गराउँछन् । नेपाल राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्नेका लागि केही सुविधा उपलब्ध गराएको छ । बैंकहरूले काठमाडौँ उपत्यकामा धितो मूल्यांकनको ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशतसम्म घरकर्जा उपलब्ध गराउँछन् । यो रकम १ करोड ५० लाख रुपैयाँभन्दा बढी हुन हुँदैन । पहिलो पटक घरजग्गा खरिद गर्ने ग्राहकले काठमाडौं उपत्यकामा पनि ६० प्रतिशतसम्म कर्जा पाउँछन् ।
यदि कुनै बनिसकेको घर किन्ने निधो गरेर ऋण लिन बैंकमा जानुभयो भने बैंकले सबैभन्दा पहिला तपाईंले खरिद गर्न लागेको घरको फेयर मार्केट भ्यालु (उचित बजार मूल्य) निकाल्छ । बैंकले इन्जिनियरलाई भ्यालुएटर (मूल्यांकनकर्ता) तोकेको हुन्छ । उसले सबैभन्दा पहिला घर बनेको जग्गाको सरकारी मूल्य र चलनचल्तीको मूल्यबाट फेयर मार्केट भ्यालु निकाल्छ । दोस्रोमा त्यो घर कति पुरानो हो, आजको दिनमा त्यत्तिको घर बनाउन (फिनिसिङसहित) कति लगानी गर्नुपर्छ । बैंकले आफ्नै ढंगले घरको अधिकतम आयु तोकेका हुन्छन् ।
इन्जिनियरले घर निर्माण गरेको जति वर्ष भयो, त्यसकै आधारमा डिप्रिसेसन (ह्रासकट्टी) गरेर घरको मूल्य निकाल्छन् । कुन ठाउँमा घर बनाइएको छ, त्यो ठाउँमा घर बनाउँदा कति खर्च हुन्छ, इन्जिनियरले सबै हेरेर इस्टिमेटेड कस्ट (अनुमानित खर्च) निकाल्छन् । अनि, जग्गाको फेयर मार्केट भ्यालु र घरको डिप्रिसेसन कट्टा गरेपछि निकालेको मूल्य जोडेर धितोको औसत मूल्य निकाल्छन् र त्यही मूल्यांकनको ५० देखि ६० प्रतिशतसम्म ऋण दिन्छन् । बैंकमा त्यही धितो बन्धक रहन्छ । कतिसम्म ऋण पाउने भन्ने कुरामा तपाईंको आम्दानी पनि हेरिन्छ ।
नेपाल राष्ट्र बैंकले घर बनाउनका लागि जग्गा किन्न लिइने ऋणलाई पनि घरकर्जाकै श्रेणीमा राखेको छ । घर किन्न, घर बनाउन, आवास विस्तार एवं मर्मत गर्न र भविष्यमा घर बनाउन जग्गा किन्ने प्रयोजनमा बैंकबाट लिइने ऋणलाई घरकर्जा अथवा होमलोन भनिन्छ ।
फस्ट होम बायर अर्थात् पहिलो पटक खरिदकर्ताको सुविधामा घरकर्जा लिँदा घरभाडालाई आम्दानीको स्रोत देखाउन पाइँदैन । घर तीन हजार वर्ग फिटभन्दा ठूलो क्षेत्रफलमा हुनु हुँदैन । त्यो घरमा आफैँ बस्नुपर्ने हुन्छ । दोस्रो घर बनाउने वा किन्ने भनेकै व्यवसायका लागि भनेर बुझिन्छ । सेकेन्ड होम बायर अर्थात् दोस्रो पटक खरिदकर्ताले घरभाडालाई पनि आम्दानीको स्रोतको रूपमा देखाउन पाउँछ ।
यदि तपाईंले पहिला ऋण लिएर घर किन्नुभएको थियो, त्यो घर बिक्री गरेर अर्को घर किन्दै हुनुहुन्छ भने फस्र्ट होम बायरको सुविधा पाउनुहुन्न । एक पटक घरकर्जा लिएपछि अर्को पटक लिँदा स्वतः सेकेन्ड बायर भइन्छ
(२) घर निर्माण कर्जा
यदि आफ्नै जग्गा छ र त्यसैमा घर बनाउने योजना बनाउँदै हुनुहुन्छ भने तपाईंलाई बैंकहरूले ‘घर निर्माण कर्जा’ शीर्षकमा ऋण दिन्छन् । काठमाडौँ उपत्यकामा जग्गा फेयर मार्केट भ्यालु र घरको इस्टिमेटेड कस्टमा ५० प्रतिशतसम्म र उपत्यकाबाहिर ६० प्रतिशतसम्म कर्जा पाइन्छ । यदि फस्र्ट होम बायर भएको खण्डमा देशैभर ६० प्रतिशतसम्म कर्जा पाइन्छ । तपाईंले ऋण लिनका लागि बनाउन लागिएको घरको इस्टिमेटेड कस्ट बैंकमा बुझाउनुपर्छ ।
बैंकलले जग्गाको फेयर मार्केट भ्यालु र घर (डिजाइनरनक्सा)को इस्टिमेटेड कस्ट जोडेर औसत मूल्यांकन निकाल्छन् । त्यही मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा पाइन्छ । यदि तपाईंले बनाउन लागेको घरको अनुमानित खर्च बैंकले निकालेको औसत मूल्यांकनको ५० प्रतिशतभित्र अटाएको खण्डमा शतप्रतिशतसम्म पनि ऋण पाइन्छ ।
उदाहरणका लागि तपाईंको काठमाडौँ, बानेश्वरमा चार आना जग्गा छ । त्यो जग्गाको चलनचल्तीको मूल्य प्रतिआना ५० लाख रुपैयाँ र सरकारी मूल्यांकन ३० लाख रुपैयाँ छ । सरकारी मूल्यांकनको ३० प्रतिशत र बजार मूल्यको ७० प्रतिशतलाई आधार बनाएर फेयर मार्केट भ्यालु निकाल्दा १ करोड ५८ लाख रुपैयाँ पर्न आउँछ । तपाईंले बनाउन लागेको घरको इस्टिमेटेड कस्ट १ करोड २० लाख रुपैयाँ भएमा अब तपाईंको घरको मूल्यांकन २ करोड ७८ लाख हुन आउँछ । बैंकले २ करोड ७८ लाख रुपैयाँको काठमाडौँ उपत्यकाभित्र ५० प्रतिशत कर्जा प्रवाह गर्दा तपाईंले १ करोड ३९ लाख रुपैयाँ ऋण पाउने अवस्था रहन्छ । यहाँ इस्टिमेटेड कस्टको शतप्रतिशत लगानी हुने अवस्था आयो ।
तर, बैंकले अधिकतम डेढ करोडको सिलिङभित्र रहेर घरको इस्टिमेटेड कस्टभन्दा बढी कर्जा दिँदैनन् । यदि फस्र्ट होम बायर भएमा इस्टिमेटेड कस्टको तीन करोड रुपैयाँसम्म ऋण लिन सकिन्छ । यसमा पनि तपाईंको आम्दानीले मासिक किस्ता बुझाउन सक्ने हुनैपर्छ ।
देशको सबै ठाउँमा घर बनाउँदा शतप्रतिशत कर्जा पाउने भन्ने हुँदैन । जग्गाको भाऊ, घरको अनुमानित खर्च र तपाईंको आम्दानीले कति कर्जा पाउने भन्ने निर्धारण गर्छ । घर निर्माणका लागि दिइने ऋण रकम तपाईंको जग्गा कस्तो स्थानमा छ, कति फिटे बाटोले जोडिएको छ, घरको सरकारी र चलनचल्तीको मूल्यांकन कति छ जस्ता विषयले घर बनाउने जग्गाको फेयर मार्केट भ्यालु तलमाथि पर्नेछ ।
बैंकले ऋण दिँदा सोही जग्गा र घरको डिजाइनलाई धितोको रूपमा राख्छन् । बैंकअनुसार ६ महिनादेखि एक वर्षसम्मको ‘मोनाटोरियम पिरियड’ हुन्छ । यो अवधिमा बैंकलाई ब्याज मात्र तिरे पुग्छ । त्यसपछि साँवा र ब्याजको किस्ता सुरु हुन्छ ।
यदि तपाईंको जग्गा ऋणमा छ भने पनि घर बनाउँदा फेरि बैंकबाट ऋण लिन सक्नुहुन्छ । तपाईंलाई जग्गा किन्न बैंकले ऋण दिएको छ । अब त्यो जग्गामा घर बनाउने सोच बनाएर थप ऋण लिन खोज्नुभयो भने तपाईंको आम्दानीले ऋणको मासिक किस्ता नियमित बुझाउन सक्ने प्रमाण पेश गर्नुपर्ने हुन्छ । यदि बैंकले तपाईंको आम्दानीले थप ऋणको पनि साँवा र ब्याज बुझाउन सक्ने ठहर गरेमा घरकर्जा पाउनुहुन्छ । धितोका रूपमा जग्गा र घरको डिजाइन (नक्सा) नै रहन्छ ।
आफ्नै जग्गामा घर बनाउँदा पनि घरको इस्टिमेटेड कस्ट चाहिन्छ । इन्जिनियरले घर ठड्याएर फिनिसिङ गर्दासम्म लाग्ने इस्टिमेटेड कस्ट सहितको डिजाइन तयार पार्छन् । त्यो डिजाइनलाई सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा पेश गरेर निर्माण इजाजत लिनुपर्छ । अर्थात् घरको नक्सा पास गर्नुपर्छ । घरको इस्टिमेटेड कस्ट, घर निर्माण स्वीकृतिलगायत सम्पूर्ण वैधानिक कागजातहरू नदिँदासम्म बैंकले ऋणको प्रक्रिया नै सुरु गर्दैन ।
बैंकले घर बनाउँदा एकैचोटि पैसा दिँदैन । बैंकको आन्तरिक नीतिअनुसार बढीमा पाँच किस्तासम्म गरेर ऋण दिन्छन् । बैंकले नियुक्त गरेको इन्जिनियरले फिल्डमा गई अनुगमन गरेर निर्माणको प्रगति विवरण बैंकमा पेश गर्छन् । बैंकले निर्माण सन्तोषजनक रूपमा अगाडि बढेको ठहर गरेपछि चार÷पाँच पटक गरेर पूरा पैसा दिन्छ ।
(३) जग्गा खरिद कर्जा
यदि तपाइ आफ्नो नियमित आम्दानीबाट थोरै–थोरै बचत गरेर जग्गा खरिद गर्ने योजनामा हुनुहुन्छ भने जग्गा खरिद गर्नकै लागि पनि वित्तीय संस्थाहरूले ऋण प्रवाह गर्न सक्छन् । घर बनाउने उद्देश्य राखेर जग्गा खरिद गर्नेका लागि बैंकहरूले धितो मूल्यांकनको ५० देखि ६० प्रतिशतसम्म ऋण प्रवाह गर्छन् ।
यो ऋणको ब्याज पनि अन्य घरकर्जाकै सरह हुनेछ । पाँच वर्षदेखि ३५ वर्ष अवधिको ऋण पाइन्छ । अधिकतम डेढ करोड रुपैयाँसम्म ऋण पाइन्छ । तर, तपाईंले निश्चित समयभित्र घर बनाउने भनेर बैंकलाई आश्वस्त पार्नुपर्छ । ‘यति समयसम्म घर बनाउँछु’ भनेर घोषणा गर्नुपर्छ । बैंकले पनि ‘प्रोडक्ट पेपर गाइडलाइन्स एप्प्रुभ’ गरेर राष्ट्र बैंकमा पठाउनुपर्छ । नत्र, जग्गा किन्दा रियल स्टेट कर्जामा गणना हुन्छ ।
नेपाल राष्ट्र बैंकले पछि घर बनाउनका लागि खरिद गर्न लागेको जग्गामा लिइने ऋणलाई पनि घरकर्जा श्रेणीमा राखेको छ । नेपालका सबै बैंक र वित्तीय संस्थाबाट यो ऋण पाइन्छ । नेपाल राष्ट्र बैंकले घर बनाउने उद्देश्यका लागि किन्न लागेको जग्गामा गरिने लगानीलाई पनि घरकर्जामै राखेको छ । तर, तोकिएको समयमा घर बनाउनुपर्छ ।
(४) घर विस्तार एवं मर्मतसम्भार कर्जा
बैंक र वित्तीय संस्थाहरूले घरको विस्तार, मर्मतसम्भार वा सुधार गर्नका लागि पनि घरकर्जा दिन्छन् । बैंकबाट ऋण लिएर घरको तला थप्न, पुरानो घर मर्मत र साजसज्जा परिवर्तन गर्न पनि सकिन्छ । तपाईंले एक तला मात्र घर बनाउनुभएको थियो र अहिले घरको तला थप्न मन लाग्यो । सम्बन्धित वडाबाट तला थप्ने स्वीकृति र इन्जिनियरले बनाएको इस्टिमेटेड कस्ट सहितको डिजाइन लिएर आउनुभयो भने बैंकले तपाईंलाई घर विस्तार कर्जा दिन्छन् ।
पुरानो घर साजसज्जा वा मर्मत गर्नुपरे पनि घरकर्जा शीर्षकमा ऋण पाइन्छ । यो ऋण लिने प्रक्रिया पनि घर निर्माण कर्जाकै सरह हो । बैंकहरूले इन्जिनियरले तयार पारेको इस्टिमेटेड कस्टमै आधारित भएर ऋण दिने गर्छन् । नेपालका अधिकांश बैंकले यस्तो कर्जा दिन्छन् । यो ऋण पनि धितो मूल्यांकन, अनुमानित खर्च र आम्दानीकै आधारमा प्रवाह गर्छन् ।
(५) सम्झौतामा आधारित घरकर्जा (एड्भान्स होमलोन)
अहिले नेपालमा पनि सामूहिक आवासको संस्कृति बढ्दै छ । रियल स्टेट डेभलपरले ठूलठूला अपार्टमेन्ट र कोलोनी निर्माण गरिरहेका छन् । यस्ता अपार्टमेन्ट र कोलोनी बन्दै गर्दा एड्भान्स रकम दिएर बुकिङ गर्नुपर्ने हुन्छ । अपार्टमेन्ट, घर र प्लटिङको जग्गा बुकिङ गर्न कहाँबाट पैसा ल्याउने रु बैंकले कित्ताकाट गरेर व्यक्तिको नाममा लालपुर्जा नबन्दासम्म पोपर्टी धितो बन्धक राख्न सक्दैनन् । धितो बन्धक नराखी ऋण पाइँदैन । तर, डेभलपर ग्यारेन्टी बसिदिएको खण्डमा बैंकबाट एड्भान्स कर्जा लिन सकिन्छ । नेपाली बैंकहरूले पनि त्रिपक्षीय र चारपक्षीय सम्झौतामा घरकर्जा दिइरहेका छन् ।
कुनै अपार्टमेन्ट वा कोलोनी बैंकको बिनालगानी डेभलप भइरहेको अवस्थामा डेभलपर, बायर र बैंक ९बायरलाई फाइनान्स गर्ने० बीच त्रिपक्षीय सम्झौता गरेर ऋण लिन सकिन्छ । सम्झौतामा डिटेल (विवरण) लेखिएको हुन्छ । निर्माणको अवधिभर उक्त पोपर्टी डेभलपरकै नाममा हुन्छ । सुरुमै टुक्राउन मिल्दैन । निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बेलामा बल्ल कित्ताकाट गरेर नामसारी गरेपछि मात्र बैंकको नाममा धितो बन्धक हुन्छ । त्यो बेलासम्म त्रिपक्षीय सम्झौताले नै काम गर्छ । पोपर्टी नामसारी नहुँदासम्म डेभलपर जिम्मेवार हुन्छ । कस्टमर (ग्राहक)को जिम्मेवारी समयमा साँवा र ब्याजको किस्ता तिर्ने हो ।
चार पक्षीय सम्झौता पनि उस्तै हो । तर, यसमा निर्माणाधीन अपार्टमेन्ट वा कोलोनीमा लगानी गरेको बैंकको पनि सहमति चाहिन्छ । डेभलपर, बायर, प्रोजेक्टमा लगानी गरेको बैंक र रिटेल कस्टमरलाई ऋण दिन लागेको बैंकबीच चारपक्षीय करार सम्झौता गर्नुपर्ने हुन्छ । तर, जुन बैंकले पोपर्टीमा लगानी गरेको छ, ग्राहकले उही बैंकबाटै एड्भान्स ऋण लिन चाहेमा त्रिपक्षीय सम्झौता गरे पुग्छ । त्रिपक्षीय वा चारपक्षीय सम्झौतामै अडिएर बैंकले एड्भान्स ऋण दिन्छन् । यत्तिकै ‘मैले घर, जग्गा वा फ्ल्याट किन्दै छु, एड्भान्स ऋण देऊ’ भनेर पाइँदैन ।
यस्तो सम्झौता गर्दा भोलि डेभलपरले निर्माण सम्पन्न गरेर बायरको नाममा पोपर्टी नामसारी गर्दा स्वतः बैंकको नाममा धितो बन्धक हुनुपर्ने शर्त राखिएको हुन्छ । बैंकको नाममा धितो बन्धक नहुँदासम्म डेभलपर जवाफदेही हुनुपर्छ ।
(६) प्रि–अप्रुभ घरकर्जा
नेपालमा एनएमबी बैंकले प्रि–अप्रुभ होमलोन सुरु गरेको छ । यो एकदमै नयाँ घरकर्जा हो । यो ऋणको प्रक्रिया पनि अरू होमलोनसरह नै हुन्छ । यसमा एउटै फरक हुन्छ, तपाईंसँग बैंकमा देखाउन कुनै पोपर्टी हुँदैन । तपाईंले आफ्नो आम्दानीको प्रमाणित कागजात र अरू आवश्यक कागजात पेश गरेपछि बैंकले यतिसम्म घरकर्जा दिन सकिन्छ भनेर ऋण स्वीकृत गरी ‘इन्टिमेसन लेटर’ दिन्छ । सुरुमै धितो देखाउन पर्दैन । ९० दिनभित्र आफुले किन्ने निधो गरेको घर÷फ्ल्याट धितो बन्धक राख्न ल्याए हुन्छ ।
बैंकले इन्टिमेसन लेटरमा घर यति फुटको बाटोमा हुनुपर्छ, घर यस्तो हुनुपर्छ, जग्गाको बजार मूल्य यतिसम्म हुनुपर्छ लगायत विभिन्न मापदण्ड तोकिदिएको हुन्छ । त्यो मापदण्डभित्र पर्ने पोपर्टी पहिचान गरेपछि बैंकले धितो बन्धक राखेर ऋण दिन्छ । तपाईंको आम्दानी हेरेर बैंकले यतिसम्म ऋण दिन सकिन्छ भनेर इन्टिमेसन लेटर दिइसकेपछि तपाईंले ढुक्कसँग आफ्नो क्षमताअनुसारको घर खोज्न जान सक्नुहुन्छ ।
उदाहरणका लागि यदि तपाईंसँग २० लाख रुपैयाँ नगद छ, बैंकले ४० लाख रुपैयाँ ऋण अप्रुभ गरेर इन्टिमेसन लेटर दिएको छ भने तपाईंले ६० लाख रुपैयाँसम्मको घर ढुक्क भएर खोज्न सक्नुहुन्छ । बैंकले इन्टिमेसन लेटर दिँदा भ्यालुएटर पनि तोकिदिएको हुन्छ । यसो गर्दा तपाईंले घर खोज्दा भ्यालुएटरसँग सल्लाह गर्न पाउनुहुन्छ । भ्यालुएटरले ‘यत्तिको घर लिँदा बैंकले धितो राख्न मान्छ, यो लिँदा मान्दैन’ भनेर सुझाव दिन्छ ।
तपाईं ९० दिनभित्र आफूले खरिद गर्ने घर निश्चित गरेर बैंकमा आउनुहुन्छ । यदि तपाईंले खरिद गर्न लागेको पोपर्टी बैंकले आफ्नो मापदण्डभित्र रहेको निश्चित गरेपछि तपाईंलाई फेरि अर्को ‘लेटर अफ अन्डरटेकिङ’ दिन्छ । त्यो लेटरमा बैंकले ‘फलानो नाममा यति ऋण स्वीकृत भएको छ, यो पोपर्टी उहाँको नाममा नामसारी भएर धितो बन्धक राख्नेबित्तिकै हामी ऋण प्रवाह गर्छौं’ भनेर लेखेको हुन्छ ।
कमर्सियल बैंकले दिएको लेटर अफ अन्डरटेकिङलाई विश्वास नगर्ने भन्ने हुँदैन । यदि पोपर्टी बिक्री गर्न लागेको व्यक्तिलाई विश्वास लागेन भने बैंकमै आएर पनि बुझ्न सक्छ । तपाईंले ल्याएको पोपर्टी बैंकले स्वीकृत गर्नेबित्तिकै मालपोत कार्यालयबाट तपाईंको नाममा नामसारी गरिन्छ र बैंकले तत्काल धितो बन्धक राखेर पहिला स्वीकृत गरेको ऋण दिन्छ ।
‘पहिला पैसा नदिई घरधनीले कसरी तपाईंको नाममा घर नामसारी गरिदिन्छ त रु’ मालपोतमा हस्ताक्षर गर्दा हाकिमले सोध्छन्, ‘तपाईंले पूरै पैसा पाउनुभयो कि भएन, तपाईंले जग्गा हेर्नुभयो कि भएन रु’ त्यो बेलामा घरधनीले ‘पैसा बुझेँ’ भनेपछि मात्र हाकिमले नामसारी गरिदिन्छन् । त्यो बेलामा तपाईंले आफूसँग भएको नगद र लेटर अफ अन्डरटेकिङ घरधनीलाई दिन सक्नुहुन्छ । घरधनीलाई पहिल्यै लेटर अफ अन्टर टेकिङप्रति पूर्ण विश्वस्त बनाउनुपर्छ ।
तपाईंको नाममा आएपछि बैंकले धितो बन्धक राखेर ऋण दिन्छन् । तपाईंले आफै घरधनीलाई चेक दिन पनि सक्नुहुन्छ वा बैंकले घरधनीको नाममा पैसा ट्रान्सफर गरिदिन पनि सक्छ । यो आपसी समझदारीमा हुने भयो । प्रि–अप्रुभ लोनको फाइदा भनेकै ‘मेरो आम्दानीले बैंकबाट कति ऋण लिन सक्ने रहेछु’ भन्ने पहिल्यै थाहा हुन्छ । आपूmसँग भएको नगद र बैंकले स्वीकृत गरेको ऋण रकमबाट ‘यतिसम्मको किन्न सक्छु’ भन्ने पहिल्यै निश्चित गरेर घर खोज्न जान सकिन्छ ।
(७) संयुक्त घरकर्जा
संयुक्त घरकर्जा यस्तो कर्जा हो, जुन एकै समय एकभन्दा बढी व्यक्तिद्वारा सामूहिक रूपमा लिन सकिन्छ । यो ऋण परिवारको कुनै सदस्यसँग मिलेर लिन सकिन्छ, जसमा तपाईंकी पत्नी वा पति, आमाबुबा र भाइबहिनी सामेल हुन सक्छन् । ऋण लिने व्यक्तिको इच्छा वा उमेरका कारण पनि संयुक्त होमलोन लिइन्छ ।
मुख्यतः संयुक्त आवास कर्जा लिनुका दुई कारण हुन्छन् । पहिलो, एक व्यक्तिको आम्दानीले किस्ता तिर्न नपुग्नु, दोस्रो उमेरका कारण लोन लिने अवधि लामो बनाउन नसक्नु । नेपालका बैंकले आफ्नो आन्तरिक नीतिअनुसार ६० देखि ७० वर्षसम्म अन्तिम किस्ता बुझाउने गरी मात्र ऋण दिन्छन् । तर, संयुक्त होमलोनले यी दुवै समस्याको समाधान दिन सक्छ ।
यदि तपाईंको उमेर ६० वर्ष छ, तपाईंलाई १०र१५ वर्ष अवधिको ऋण चाहियो भने श्रीमती, भाइबहिनी वा छोराछोरीलाई ‘ज्वाइन्ट एप्लिकेन्ट’मा राख्न सक्नुहुन्छ । कम उमेरको व्यक्तिसँग संयुक्त ऋण लिएमा ६५ वा ७० वर्षमै ऋण तिरेर सक्नुपर्छ भन्ने हुँदैन । त्यहाँ अर्को व्यक्तिको उमेरले काम गर्ने हुन्छ । यदि पोपर्टी नै संयुक्त नाममा छ भने त्यस्तो अवस्थामा पनि संयुक्त कर्जा लिन सक्नुहुन्छ ।
यो ऋण लिनका लागि संयुक्त खाता खोल्नुपर्छ । ऋण पनि त्यसै खातामा बुक हुन्छ । संयुक्त खातामा दुवै जनाको पूरै कागजपत्र चाहिन्छ । केवाईसी अपडेटका कुरा, खाता दुवैले चलाउने कि एक्लै यो स्पष्ट हुनुपर्छ । यो ऋणको भुक्तानी दुवैको अकाउन्टबाट हुन्छ । र, ऋण समयमा नबुुझाउँदा वा ढिलो हुँदा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारीसमेत दुवैले लिनुपर्ने हुन्छ । संयुक्त होमलोन दिने समयमा बैंकले दुवै व्यक्तिको आम्दानीतर्फ पनि ध्यान दिन्छ । दुवैको आम्दानीले किस्ता बुझाउन पनि सकिन्छ । यो ऋण एक व्यक्तिलाई दिनेभन्दा अलि धेरै हुन्छ ।