काठमाडौं । बैंकहरुको संख्या घटाउन अनिवार्य मर्जर गराउने नीति लिएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी यस विषयमा ‘लिवरल’ भएका छन् । गभर्नर अधिकारीले वित्तीय स्थायित्वका लागि भन्दै क्रसहोल्डिङ भएका र नभएका बैंक तथा वित्तीय संस्थाहरुलाई फोर्सका साथै विग मर्जर गराउने नीति लिएका छन् ।
बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिङ) का पदाधिकारीसंग मंगलबार भएको ‘भर्चुअल’ छलफलमा गभर्नर अधिकारीले यस विषयमा लिवरल धारणा सार्वजनिक गरेका हुन् । उनले अहिले कोरोना महामारीका कारण मर्जर दोस्रो प्राथमिकता परेको जानकारी बैंकका अध्यक्षहरुलाई गराएका थिए ।
गभर्नर अधिकारले आफू मर्जरमा जान दवाव नदिने तर यो आवश्यकता भइसकेकाले यस विषयमा गम्भीर भएर सोच्न आग्रह गरेको छलफलमा सहभागी एक बैंकका अध्यक्षले बताए । सो अवसरमा गभर्नर अधिकारीले कोरोना महामारीबाट वित्तीय क्षेत्रलाई जोगाउनु आफ पहिलो प्राथमिकता रहेको जानकारी गराएका थिए ।
राष्ट्र बैंकले मर्जर/प्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले यस सम्बन्धमा आपसमा निर्णय गरेर निश्कर्षमा पुग्न बैंकका अध्यक्षहरुसँग आग्रह गरेका थिए ।
सो अवसरमा बैंकका अध्यक्षहरुले मर्जरमा जानलाई आफूहरु तयार रहेको तर त्यसका लागि सहुलियत आवश्यक भएको गभर्नर अधिकारीलाई बताएका थिए ।
परिसंघका अध्यक्ष पवन गोल्यानले मर्जरमा जानका लागि बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सीईओ) को व्यवस्थापनका साथै करमा छुट दिनुपर्ने माग गरेको जानकारी दिए । क्यापिटल नेपालसंग कुरा गर्दै उनले मर्जरमा जाने बैंकका सञ्चालकको संख्या ७ बाट बढाएर ११ कायम गर्न सुझाव दिएको बताए ।
सो अवसरमा गभर्नर अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले मौद्रिक नीति जारी गरेको उल्लेख गर्दै उक्त नीतिको कार्यान्वयनमा सहयोग पुर्याउन बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुसँग आग्रह गरेका थिए । ‘यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन । आफ्नो व्यवसायलाई टिकाउन यहाँहरु केन्द्रित भइदिनुस’ गभर्नरले भने ।
वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रतर्पm कर्जा प्रवाह हुनसक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसप्रति सजग रहन बैंकका अध्यक्षहरुसँग आग्रह गरेका थिए ।
परिसंघका अध्यक्ष गोल्यान, नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी, हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह, लुम्बिनी विकास बैंकका अध्यक्ष दशरथ रिजाल, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल फाइनान्स लिमिटेडका अध्यक्ष हिरेन्द्रमान प्रधान, रिलायन्स फाइनान्सका अध्यक्ष कुशकुमार मालीलगायतले समसामयिक बैंकिङ तथा वित्तीय क्षेत्रका सन्दर्भमा आ–आफ्नो धारणा राखेका थिए ।