काठमाडौं । गत फागुनदेखि ठप्प रहेको नेपाल र चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका असोज १९ बाट सुचारु हुने भएको छ । दुई देशका अधिकारीबीच मितेरी पुलमा बसेको बैठकमा असोज १९ (अक्टोबर ५) बाट नाका सुचारु गर्ने सहमति भएको हो ।
सिन्धुपाल्चोकको जम्बु बजारमा २५ असारमा पहिरो गएपछि नाका बन्द थियो र बीचमा केही समय आंशिक खुले पनि चीनमा कोरोना महामारी शुरू भएपछि ठप्प रहँदै आएको छ । बैठकमा चीनका तर्फबाट आएका सामान लिपिङ पुलमा अनलोड गर्ने र नेपाल तर्पmका मजदूर तथा चालक गएर ती सामान लोड गरेर ल्याउने सहमति भएको छ । त्यसका लागि नेपालका तर्फबाट २ समूह बनाई सामान भित्र्याइनेछ । एक समूहमा चालक, सहचालक र मजदूर गरी २५ जना र अर्को समूहमा २८ जनाको टोली रहने जनाइएको छ ।
पहिलो समूहको पीसीआर गरेर तयारी अवस्थामा राखिएको छ । चिनियाँ पक्षले थप अर्को २८ जनाको समूह तयारी अवस्थामा राख्न भनेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।
खत्रीका अनुसार यसअघि जाँच गरिएका पहिलो समूहका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । नाकामा खटिने चालक र मजदूरको ५/५ दिनमा कोरोना परीक्षण चीनले नै गर्नेछ ।
मंगलवारको बैठकमा ली ऊ लिनको नेतृत्वमा भन्सार प्रमुखलगायत उच्च चिनियाँ अधिकारीहरू संलग्न थिए । नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, तातोपानी भन्सार प्रमुख लालबहादुर खत्री, सुरक्षा निकायका प्रमुखहरू छलफलमा सहभागी भएका थिए ।
असोज १९ बाट चिनियाँ भन्सारमा रोकिएका मालवाहक कन्टेनरका सामान नेपाल भित्रनेछन् । त्यससँगै नजिकिएको चाडपर्वका लागि चाहिने अत्यावश्यक सामग्रीसमेत तातोपानी भन्सारबाट भित्रनेछ ।
कुती नजीकैको ताल फुट्न सक्ने भन्दै साइरन राख्न नेपालले चिनियाँ अधिकारीलाई अनुरोध गरेको छ । तर, चिनियाँ पक्षले भने यसबारे माथिल्लो निकायमा कुरा गरेर निर्णय गर्ने बताएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।