काठमाडौं । गत वर्ष २०७६/०७७ मा ८२ अर्ब ८ करोडको विद्युतीय सामान आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार कुल आयातको झन्डै ७ प्रतिशत विद्युतीय सामान मात्रै आयात भएको हो ।
गत आवमा कुल ११ खर्ब ९६ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । त्यसको झन्डै ७ प्रतिशत अर्थात ८२ अर्ब बराबरको विद्युतीय उपकरण तथा सामानहरू आयात भएको हो ।
जलस्रोतको दोस्रो धनी देश नेपालमा धेरै जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने मेसिन तथा उपकरण ९० प्रतिशतभन्दा बढी विदेशबाट नै आयात हुन्छ । जलविद्युत् आयोजनामा आवश्यक पर्ने इलेक्ट्रिक तथा मेकानिकल उपकरण, विद्युतीय पार्टपुर्जा, विद्युतीय लाइट तथा थरीथरीका बत्तीहरू पनि विदेशबाट नै आयात हुन्छ ।
गत आवमा भारत लगायतका तेस्रो मुलुकबाट आएका विद्युतीय सामानहरूको कारोबार भने न्यून रहेको उद्योगीहरू बताउँछन् । कोरोना भाइरस(कोभिड–१९ं) महामारीका कारण ६ महिना बन्दाबन्दी हुँदा र कुनै ऊर्जा तथा जलविद्युत् आयोजनामा काम नहुँदा विद्युतीय सामानहरूको कारोबार ठप्प हुन पुगेको हो ।
लकडाउनका अवधिमा विद्युतीय सामानको कुल कारोबारमध्ये झन्डै २० प्रतिशतमा मात्रै सीमित हुन पुगेको नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष रमेश देवकोटाले बताए ।
कोभिड जोखिम अझै बढेकाले पनि विदेशबाट ठूलो मात्रामा विद्युतीय सामान ल्याउन सक्ने अवस्था नरहेको देवकोटाले बताए । यसअघि खरिद गर्न सहमति भएका विद्युतीय निर्माणका सामानहरू आयात भइरहेको छ । जलविद्युत् आयोजनाका पार्टपुर्जा, उपकरण तथा मेसिन भने लकडाउनकै अवधिमा पनि ठूलो परिमाणमा आउन सक्ने देवकोटाको तर्क छ ।
तर, व्यावसायिक विद्युतीय सामान तथा उपकरण आयातमा कमी आउने देखिन्छ । फुटकर विद्युतीय सामानको आायत ठप्प प्रायः नै हुने देखिन्छ । लकडाउनको अवधिमा गरिएको सर्वेक्षणमा सहभागी उद्योग तथा व्यवसायमध्ये ९६ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७४ प्रतिशत उत्पादन/कारोबार घटेको महासंघले जनाएको छ ।
त्यति मात्रै होइन, लकडाउनको अवधिमा ८४ प्रतिशत उद्योग÷व्यवसायको औसत बिजुली खपत घट्दा पनि कारोबारमा गिरावट आएको हो ।
खासगरी, होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डार, शिक्षा, उद्योग तथा कलकारखानामा विद्युतीय सामानको खपत बढी हुन्छ । तर, लकडाउनका बेला त्यस्ता उद्योग तथा व्यवसाय बन्द हुन पुगे ।
दसैं र तिहार जस्ता चाडपर्वमा विद्युतीय सामानको कारोबार पनि त्यति हुन नसकेको उनी बताउँछन् । खासगरी तिहार झिलिमिली बत्तीलगायत धेरै विद्युतीय उपकरण प्रयोग हुने भए पनि अहिले त्यस्ता वस्तुको कारोबार निकै कम भएको व्यवसायीहरू बताउँछन् ।