काठमाडौं । जग्गाको विवादका कारण भैरहवा विमानस्थलमा राख्ने भनिएको सोलार प्लान्ट योजना रोकिएको छ । सोलार प्लान्ट राख्न आवश्यक पर्ने विमानस्थलको २२ बिघा जग्गा उपलब्ध गराउने विषयमा पर्यटन मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सहमति हुन नसकेपछि परियोजना अघि बढ्न नसकेको हो ।
विमानस्थलको जग्गा प्रयोग गरेबापत ऊर्जा उत्पादकहरुले भाडाबापत तिर्ने पैसा बिजुलीको बिल वा लगानीका रुपमा हिसाब गर्ने भन्ने मोडालिटीमा क्यानसँग सहमति जुट्न सकेन् । त्यस्तै, क्यानले जग्गाको भाडा बढी तोकेपछि निजी कम्पनी सोलार प्लान्ट राख्न अनिच्छा व्यक्त गरे ।
सोलार प्लान्ट प्राधिकरण आफैंले बनाउने नभइ निजी क्षेत्रका कम्पनीबाट बनाउने हो । निजीक्षेत्रका केही कम्पनीले सोलार प्लान्ट राख्न जग्गाको भाडासहित प्रस्ताव विद्युत् प्राधिकरणमा पेश गरेका थिए ।
क्यानले पनि सजिलै जग्गा दिन नमिल्ने र तोकेको मूल्यमा निजीक्षेत्र कम्पनीहरुले जग्गा लिजमा लिन सक्ने अवस्था नभएपछि सोलार प्लान्ट परियोजना स्थगित भएको प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
‘सोलार प्लान्ट राख्ने कुरा अब हरायोभन्दा हुन्छ । जग्गा उपलवब्ध गराउने कुरामा क्यानसँग सहमति हुन सकेन्’ उनले भने, ‘क्यानले पनि त्यत्तिकै जग्गा दिन नमिल्ने र तोकेको मूल्यमा निजीक्षेत्र कम्पनीहरुले जग्गा लिजमा लिन सक्ने अवस्था रहेन् ।’
सोलार प्लान्ट विद्युत् प्राधिकरणले बनाउने नभइ निजीक्षेत्रका कम्पनीलाई दिने परियोजना हो । खुला प्रतिष्पर्धामार्फत कम्पनी छनोट गरी छानिएको कम्पनीलाई सोलार प्लान्ट राख्न दिने भनिएको थियो
निजी क्षेत्रका कम्पनीहरुले प्राधिकरणलाई जग्गाको भाडासहितको प्रस्ताव पेश गरेका थिए । तर, क्यानले तोकेको जग्गाको भाडा बढी तोकेपछि कुरा नमिलेको हो ।
विमानस्थालमा आवश्यक पर्ने ऊर्जा सोलारबाट उत्पादन गर्ने र बढी भएको बिजुली प्राधिकरणले नै खरिद गर्ने गरी योजना अघि सारिएको थियो ।
विमानस्थलको जग्गा प्रयोग गरी सोलार प्लान्टबाट १२ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य थियो ।