काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असोज १६ गते बिहीवारदेखि सात वर्षे अवधिको ऋणपत्र विक्री खुला गर्ने भएको छ ।
कम्पनीले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री खुला गर्न लागेको हो । कुल कित्तामध्ये सर्वसाधारणका लागि रू. १ अर्ब २० करोड बराबरको विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब ८० करोड बराबरको ऋण कम्पनी आफैंले परिपत्र विधिबाट विक्री गर्नेछ ।
सर्वसाधारणका लागि छुट्याइएको मध्येबाट ६० हजार कित्ता ऋणपत्र भने सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी ११ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ । ऋणपत्रको विक्री प्रबन्धकमा एनएमबि क्यापिटलले पुरा गर्नेछ ।
ऋणपत्र खरीदका लागि लगानीकर्ताहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको ऋणपत्रलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमताको संकेत गर्ने इक्रा एनपी आईआर ए माइनस एटदरेट रेटिङ प्रदान गरेको छ ।
उक्त ऋणपत्र खरीद गर्नेले तोकिएको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् । धितोपत्र दोस्रो बजारमा पनि यो ऋणपत्र सूचीकृत हुने हुदाँ खरीदविक्रीसमेत गर्न सकिने व्यवस्था छ ।
उक्त ऋणपत्र छिटोमा असोज २० र ढिलोमा असोज ३० गतेसम्म विक्रीमा रहनेछ । यो ऋणपत्र खरिदका लागि विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यो ऋणपत्र विक्री गर्न कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असोज १ गते स्वीकृति पाएको हो । वाणिज्य बैंकहरुले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य विक्री गर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीले ऋणपत्र विक्री गर्न लागेको हो ।